२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

कांग्रेस नेता शेखरको प्रश्न : प्रधानमन्त्रीले कसको विरुद्ध मानिस सडकमा ल्याउने ?

बिहिवार , आश्विन १८, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, १८ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कसको विरुद्ध मानिस सडकमा ल्याउने भन्दै प्रश्न गरेका छन् । उनले प्रचण्डले दुई महिनाभित्र दुई लाख मानिस सडकमा जम्मा गर्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति व्यक्त गरेका हुन् ।

    नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्मेलनलाई बिहीबार मायादेवी गाउँपालिका–६ स्थित बेथरीमा सम्बोधन गर्दै डा. कोइरालाले भने, ‘प्रचण्ड पार्टीको अध्यक्ष मात्र भएको भए मैले यो कुरा स्वीकार्थे, तर उहाँ तपाई हाम्रो प्रधानमन्त्री पनि हुनुहुन्छ । देशको प्रधानमन्त्रीले कसको विरुद्ध मानिस सडकमा ल्याउने ?’

    प्रधानमन्त्री प्रचण्डले २०८४ मा माओवादीलाई जिताउ म तपाईहरुलाई जातीय राज्य दिन्छु भनेको भन्दै उनले आपत्ति व्यक्त गरे । उनले भने, ‘हामी जातीय राज्यमा जान सक्दैनौ । नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक मुलुक हो । यहाँ कुनै जातजातिको बाहूल्यता छैन । पहिला पनि मुलुकलाई जातीय राज्यमा लग्न खोजेकै हुन् । तर सकेनन् । ’

    उनले मुलुकमा अराजकताले पराकाष्ठा नाघेको बताए । कांग्रेस ९ मन्त्रालयसहित सरकारमा रहे पनि संसदीय व्यवस्थामा प्रधानमन्त्रीले जे भन्यो त्यही हुने बताए । उनले मुलुकको विकासका लागि कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेकोमा जोड दिए । वर्तमान सरकार सच्चिनुपर्ने उनको भनाइ छ ।

    उनले २०८२ मंसिर भित्र नेपाली कांग्रेसको महाधिवेशन हुने गरी लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे । उनले आफू सभापति पदमा पराजित भए पनि पार्टी सभापतिसँग सौहादपूर्ण सम्बन्ध रहेको बताए । ‘विधि र विधानसम्मत अगाडि बढ्नपर्ने हाम्रो माग हो, ४० प्रतिशत भाग खोजेका छैनौं, ’उनले भने ।

    पुराना र लामो समयदेखि योगदान पुर्याउने मान्छेलाई पाखा लगाउने र नयाँ मान्छेलाई केन्द्रीय सदस्य बनाउने हो भने यसले कांग्रेसलाई कमजोर बनाउने डा. कोइरालाको भनाइ छ । पार्टीमा गुट–उपगुट हुने र उर्जाका लागि पनि त्यो आवश्यक भए पनि गुट–उपगुटले एकआपसमा कुरा हुनु नै बन्द गर्नु भने गलत रहेको उनले बताए ।