
बुधवार , आश्विन १७, २०८०
रुपन्देही, १७ असोज ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस नेतृत्वको सरकार जरुरी भएको बताएका छन् । यो सरकार सच्चिनुपर्ने वा छाड्नुपर्ने उनले बताए ।
बुधबार कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनमा बोल्दै उनले भने, कांग्रेस नेतृत्वको सरकार जरुरी छ, तर हाम्रै साथीहरुलाई चाहिएको छैन । उनले नेपाललाई यसै गरी राख्ने हो भने नेपालको स्वतन्त्रता, सार्वभौमिकता, आर्थिक, राजनीतिक, धार्मिक, राजनीतिक, साँस्कृतिक र कुटनीतिक अवस्था जर्जर हुने चिन्ता व्यक्त गरे ।
उनले भने, ‘देश अत्यन्तै अफ्ठयारो स्थितिमा छ । आर्थिक अवस्था मैले भनिरहनुपर्दैन । महंगी बढिरहेको छ । रोजगारीका अवसरहरु करिबकरिब ठप्प भएको अवस्था छ । भ्रष्टाचार बढेको छ । सुशासन हामीले दिन सकिरहेका छैनौं । दण्डहीनता बढेको बढ्यै छ । ’
डा. कोइरालाले भने, ‘के हामी यति कमजोर भइसक्यो कि हामीले सुशासन दिन नसक्ने, भ्रष्टाचार समाप्त गर्न नसक्ने, दण्डहीनताको अन्त्य गर्न नसक्ने ? हामी सक्छौं । राज्यमा बस्ने व्यक्तिमा धेरै निर्भर गर्छ । हामी गर्न सक्छौ भन्ने आँट हुनुपर्छ । ’
पढेलेखेका जनशक्ति विदेश पलायन भइरहेका भइरहेको भन्दै नेपाल फर्कने वातावरण नेपाली कांग्रेस नेतृत्वको सरकारले मात्रै गर्न सक्ने उनले दावी गरे ।
डा. कोइरालाले संसदीय व्यवस्थामा मन्त्रीहरुको धेरै ठूलो भूमिका नहुने बताए । उनले भने, ‘मन्त्रीले मन्त्रालयमा मात्र सुशासन दिन सक्नुहुन्छ । संसदीय व्यवस्था भनेको प्रधानमन्त्रीय व्यवस्था हो । प्रधानमन्त्री र मुख्य सचिव बस्नुभयो भने मन्त्रीज्यूहरुलाई नै थाहा हुँदैन । जतिपनि घटनाहरु भइरहेका छन् । प्रधानमन्त्रीको एकल निर्णयले भइरहेको छ । हामीले यो कुरा बुझ्न जरुरी छ ।’
कांग्रेस कमजोर भए लोकतन्त्र पनि कमजोर हुने बताउँदै नेता कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij