
बुधवार , आश्विन १७, २०८०
भैरहवा, १७ असोज ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलमा ३२ जनाको निःशुल्क घुँडा तथा हिपको शल्यक्रिया तथा प्रत्यारोपण गरिएको छ । थाइल्याण्डको श्रीराज हस्पिटलका हाडर्जोनी तथा नशा रोग विशेषज्ञ प्राध्यापक डाक्टर किराती सी वानिच नेतृत्वको टोलीले बिरामीको शल्यक्रिया तथा घुँडा प्रत्यारोपण गरेको हो ।
आइतबारदेखि मंगलबार (तीनदिन) सम्म भएको निःशुल्क शल्यक्रिया शिविर ‘सर्जरी क्याम्प’ मा सिद्धार्थनगर सिटी हस्पिटलका हाडजोर्नी तथा नशा रोग विभाग प्रमुख डा. जावेद अहमद खानको नेतृत्वमा अस्पतालमा कार्यरत डाक्टर, नर्स र अन्य सहयोगी कर्मचारीहरु सहभागी रहेका थिए ।
सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक अर्जुन पौडेलकाअनुसार गत २८ जुलाई २०२३ मा लुम्बिनीस्थित पीस हार्मोनी सेन्टरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । ८ सय जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको उक्त शिविरमा औषधी समेत निःशुल्क वितरण गरिएको थियो । उक्त शिविरबाट छनौट भएका ३२ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो ।
निःशुल्क शल्यक्रिया शिविरले यस क्षेत्रमा बसोबास गर्ने गरीब तथा विपन्न परिवार लाभान्वित भएको पौडेलको भनाइ छ ।
शल्यक्रिया शिविरका लागि थाइल्याण्डबाट १२ जना विशेषज्ञ डाक्टर, फिजियोथेरापिष्ट, नर्सिङ कर्मचारीसहित २५ जनाको मेडिकल टीम र अन्य सहयोगी संस्थाका प्रतिनिधि गरी ७६ जना आएको पौडेलले जानकारी दिए ।
राजकीय थाई विहार लुम्बिनीको पहलमा, थाइल्याण्डस्थित श्रीराज हस्पिटल र थाइल्याण्डमा रहेका सहयोगी संस्थाहरुको सहयोगमा सिद्धार्थनगर सिटी अस्पतालमा शल्यक्रिया शिविर भएको हो ।
बुधबार शिविरको समापन कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सरकारले गर्ने काम निजी क्षेत्रले गरेको बताए । उनले भने, ‘कुनै हिसाबले यहाँहरुले सरकारलाई सहयोग गर्नुभएको छ । यो महत्वपूर्ण कामको संयोजन गर्ने राजकीय थाई विहार लुम्बिनीलाई धन्यवाद दिन चाहन्छु । ’ प्रजिअ अर्यालले मनको शान्तिका लागि मानिस स्वस्थ हुनुपर्ने बताए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले शिविर सञ्चालनका लागि सहयोग गर्ने थाइल्याण्डको श्रीराज हस्पिटललाई धन्यवाद दिए । उनले भने, ‘यस्तो सहयोग भविष्यमा पनि निरन्तरता होस् ।
सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का अध्यक्ष डा. सुवोध कुमार पाण्डेयले सबैले राम्रो सुविधा पाउन भन्नेतर्फ अस्पताल लागिपरेको बताए । उनले शल्यक्रियाले बिरामी आफै हिंड्न सक्ने भएको बताए ।
सिद्धार्थनगर सिटी हस्पिटलका बिजनेश म्यानेजर पंकज पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij