२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

विद्यार्थीको क्षमता विकास गर्न भैरहवामा नौलो कार्यक्रम

बुधवार , आश्विन १७, २०८०

भैरहवा, १७ असोज । 
विद्यार्थीहरुको अन्तरनीहित प्रतिभालाई प्रस्फुटन गर्दै सहकार्यको भावनामै रही आफैमा प्रतिष्पर्धात्मक बनाउन भैरहवामा आठौँ हब सम्मेलन भएको छ । 

क्वेस्ट नेपाल सिद्धार्थ हबको आयोजनामा स.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) अन्तर्गतको ८ औं सम्मेलन भैरहवाको श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा भएको हो । 
देशभर विभिन्न निजी क्षेत्रका विद्यालयहरुको सहभागीतामा २५ वटा हब रहेकोमा नेपालकै एक मात्र सामुदायिक विद्यालयहरुको सक्रियतामा सिद्धार्थ हब गठन भएको छ । १० वटा सामुदायिक विद्यालय रहेको सिद्धार्थ हब अन्तर्गतका ६ वटा विद्यालयको विद्यार्थीको सहभागीतामा सम्मेलन भएको छ ।  

विद्यार्थीहरुको शैक्षिक महोत्सवको रुपमा रहेको एस.क्यु.सी.(विधार्थी गुणीय चक्र) सम्मेलनमा पर्यवेक्षकको रुपमा रुपन्देहीका ३ वटा विद्यालयको सहभागीता रहेको छ । प्रतिष्पर्धात्मक यो सम्मेलनमा सहभागी विद्यालयहरुबाट २ सय ३६ जना विद्यार्थीले भाग लिएको क्वेस्ट नेपाल सिद्धार्थ हबका संयोजक रवि राज काफ्लेले जानकारी दिए । 

एस.क्यु.सी.अन्तरगत विद्यार्थीहरुको स–साना समुह बनाई जसले विद्यार्थीका समस्या छनौट गरी समस्याका कारण, मुल जरा, पत्ता लगाई समुहमा मिलेर समस्या समाधानका उपायहरु आफै एवं अरुको सहयोगमा पहिल्याउने र ती समस्या समाधान गर्न सकुन भन्ने कार्यक्रमको उद्देश्य हो । 

सम्मेलनमा हाजिरीजवाफ, हिज्जे, कथा लेखन, चित्रकला, कोलाज लगायतको विधामा प्रतियोगिता गराइएको आतिथ्य विद्यालय श्री रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालयका प्राचार्य रुप कुमार रायमाझीले बताए । 

सम्मेलनले विद्यार्थीहरुमा सहकार्यको भुमिका अभिवृद्धि हुनुका साथै प्रतिष्पर्धाभन्दा समन्वयको भावना जागृत हुने बताए । विद्यालय विद्यालय भन्दा पनि सबै विद्यालयको विद्यार्थीहरुलाई सम्मिलत गराई समूह समूहमा प्रतियोगिता गराइएकोले प्रभावकारी रुपमा विद्यार्थीहरुको क्षमता विकासका साथै सृजनशील र राष्ट्रिय रुपमा प्रतिष्पर्धात्मक हुने बताए ।

कक्षा ४ देखि १० कक्षासम्मको विद्यार्थीहरुको सहभागीता हुने क्वेस्टमा १० जनासम्मको समूह विद्यार्थी आफैले बनाई आफ्ना वरीपरी भएका समस्याको वैज्ञानिक अनुसन्धानात्मक विधि प्रयोग गरेर समाधान गराइन्छ । रुपन्देहीमा २०७८ सालदेखि स्थापना भई पहिलो वर्ष शान्ति नमुनामा सम्मेलन भइसकेको छ भने दोस्रो ललाराम माविमा भएको सिद्धार्थ हबका सचिव प्रकाश चापागाईले जानकारी दिए । दश जना मास्टर प्रशिक्षकहरुले सम्मेलनमा निर्णयकको भूमिका रहेको थियो ।

सम्मेलनमा सहभागीहरुमध्येबाट छनोट भई आगामी मंसिर ८ गतेदेखि चितवनमा हुने राष्ट्रिय सम्मेलनमा भाग लिन पाउनेछन् । देशभरका २५ वटा क्षेत्रबाट छानिएका विद्यार्थी प्रतिनिधि यसमा सहभागी छन् । सम्मेलनमा विद्यालयका प्रतिनिधिले आफ्ना विद्यार्थीको गुणीय चक्रमार्फत गरेको कार्य र अध्ययनको प्रतिवेदन प्रस्तुत गर्ने छन । यस्तै उनीहरूले कसरी समस्याको पहिचान, विश्लेषण र समाधान गरे र उनीहरूले आफ्नो व्यक्तित्व विकास तथा विद्यार्थीको गुणीय चक्रबाट अन्य फाइदा के–के पाए भन्नेबारे देखाउनेछन ।

सम्मेलनमा विद्यार्थीहरूले विभिन्न गतिविधिमा भाग लिने बताइएको छ । विद्यार्थीहरूले कोलाबोरेटिभ कोलाज, चित्रकला, कथा लेखन, हिज्जे प्रतियोगिता, हाजिरी जवाफ, प्यानल डिस्कशन, मनशा स्मृति सर्वगुणीय व्यक्ति अवार्ड लगायतमा सहभागी हुनेछन् । त्यस्तै, विद्यार्थीहरू विज्ञानसम्बन्धी कार्यशाला, मोडल मेकिङ, स्पोकन वर्ड पोइट्री, फोटोग्राफी, खेल तथा गीत, समूह कार्य, जुम्बा नृत्य, योग तथा ध्यान आदि कार्यक्रममा पनि सहभागी हुनेछन् ।