२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

बिमानस्थल जग्गा प्रकरण : मिश्रालाई मुआब्जा नदिने निर्णय

सोमवार , आश्विन १५, २०८०

भैरहवा, १५ असोज । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे (धावनमार्ग) सहितको विवादित झण्डै ५ बिघा जग्गाको मुआब्जा नदिने निर्णय गरिएको छ । जिल्ला मुआब्जा निर्धारण समितिको सोमबार बसेको बैठकले विमानस्थलको रन–वे तथा पर्खालभित्र रहेको विवादित जग्गाको मुआब्जा नदिने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद अर्यालले जानकारी दिए ।

भुमाफियाको योजनामा मालपोत कार्यालय रुपन्देहीका प्रमुख मालपोत अधिकृत कुमार आर्चार्यसहितको टीमले विमानस्थलभित्रको जग्गा ४ विघा १७ कठ्ठा ६ धुर जग्गा सिद्धार्थनगर–५ का पर्वतराज कान्त मिश्राको नाममा दर्ता गरेको थियो ।

मालपोत कार्यालयले हदबन्दीका कारण फिल्डबुकमा भए पनि कसैको नाममा दर्ता नरहेको उक्त जग्गा २०८० बैशाख ८ गते मिश्राको नाममा दर्ता गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी अर्यालले जग्गा दर्ता गर्ने सम्बन्धमा मालपोत कार्यालयले विधि, प्रक्रिया, क्षेत्राधिकार, ऐन र कानूनको कुनै ख्याल नै नगरी दर्ता गरिएको पाइएकाले मुआब्जा नदिने निर्णय गरिएको बताए ।

सिद्धार्थनगर नगरपालिका–५ का मिश्रको नाममा मालपोतले जग्गा दर्ता गरिदिएपछि मिश्राले गत वैशाख २७ गते मुआब्जा माग गर्दै गौतमबुद्ध विमानस्थल आयोजना कार्यालयमा मुआब्जा माग गर्दै निवेदन दिएका थिए । त्यसपछि घटना बाहिरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी अर्यालको अध्यक्षतामा बसेको बैठकमा मालपोत अधिकृत ऋषिराम पौडेल, सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, विमानस्थल आयोजना प्रमुख ई. प्रवेश अधिकारी सहभागी थिए ।

२०२१ सालमा भूमिसुधार ऐन लागू भएपछि तत्कालिन समयमा ७ नम्बर फाटवारीमा सुर्जा मिश्राईनले ३० विगाह १४ कठ्ठा १४ धुर जग्गाको फाटवारी भरेको देखिन्छ ।

यही फाटवारीको अन्तिम महलमा हदबन्दी भन्दा बढी जग्गा भए राख्ने वा छाड्ने भन्नेमा करिब ४ बिगाह जग्गा कालिजी (भगवान) लाई दान गरेको हुँदा छाड्ने उल्लेख छ । ३० विगाहमध्ये १३ विगाह १३ कठ्ठा ८ धुर मोहीमा परेको छ । त्यसमध्ये १० विगाह ६ कठ्ठा १९ धुर पर्वतराज कान्त मिश्राको नाममा गएको देखिन्छ । त्यसमध्ये ६ विगाह १ कठ्ठा ६ धुर जग्गा फिल्डबुकमा खाली रहेको छ ।

विमानस्थलभित्रको जग्गा व्यक्तिको नाममा दर्ता भएपछि चौतर्फी आलोचना भएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयसहित सरोकारवाला पक्ष सबैले चासोका साथ अध्ययन तथा छलफल अगाडि बढाएका थिए ।

भुमाफिया गिरोहको योजनामा मालपोत कार्यालयलले सिद्धार्थनगर १० भुजौली ९ (ख) को कित्ता नम्बर ७, ३२, ६७, ६८, ९२, ९४ र ९ (क) को कित्ता नम्बर २९ लाई पर्वतराज कान्त मिश्राको नाममा दर्ता गरिदिएको जग्गाको मुआब्जा दिने आधार नदेखिएकाले नदिने निर्णय गरिएको प्रजिअ अर्यालले बताए ।

स्थानीय व्यक्तिहरुले कालीजीलाई दान गरेको भनिएको जग्गा व्यक्तिलाई दर्ता गरेको थाह पाएपछि विरोध जनाएका थिए । स्थानीयनले सार्वजनिक सरहको जग्गाको मुआब्जा रकम व्यक्तिलाई उपलब्ध नराउन भन्दै सरोकारवाला सबैसँग डेलिगेशन समेत गएका थिए ।