
सोमवार , आश्विन १५, २०८०
वीरगंज, १५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थासहितको प्रजातन्त्र र सनातन हिन्दू अधिराज्य ल्याउनका लागि तेस्रो जनआन्दोलन सुरु गरेको बताएका छन ।
आइतबार वीरगंजमा राप्रपा नेपालले आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष थापाले संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्था र शासकहरुबाट मुक्तिको लागि विकल्पमा राजासहितको प्रजातान्त्रिक व्यावस्था ल्याउन आन्दोलन सुरु गरेको बताए ।
राजसंस्था, हिन्दू राष्ट्र ल्याउन र जनताले चुनेको प्रधानमन्त्रीबाट देशको आर्थिक समृद्धि गर्ने राप्रपा नेपालको मुख्य उद्देश्य रहेको थापाले बताए । राष्ट्रियता र एकताको प्रतीकको रुपमा राजसंस्थालाई कायम राख्न सक्यौं भने यो देशको अस्तित्व शान्ति र आर्थिक समृद्धि सुनिश्चित हुने भएकोले राजालाई पनि ठाउँ दिनुपर्छ भन्ने माग गर्नुपरेको उनको भनाइ छ ।
राजादेखि माओवादीदेखि सबै अटाउने व्यवस्था नै नेपालको आर्थिक समृद्धिको मूल आधार भएकाले कसैलाई निषेध नगरी राजसंस्थासहितको प्रजातन्त्र ल्याउन सम्भव भएको बताए । देशको भूराजनीतिक अवस्था, धार्मिक सांस्कृतिक परिवेशले पनि राजनीति भन्दामाथि एउटा संस्था आवश्यक हुन्छ भन्ने विगत १७–१८ बर्षको राजनीतिक व्यवस्थाले आवश्यकता औल्याएकोले अब राजसंस्था र हिन्दू राष्ट्र स्थापना गरी राजासहितको प्रजातन्त्रको पुर्नस्थापना गर्नुपर्ने उनको जिकिर छ ।
गणतन्त्र स्थापनापछि बनेका तीनवटै राष्ट्रपति राष्ट्रको अभिभावक हुन नसकेको तर्क गर्दै थापाले पार्टीको राष्ट्रपति होइन, देश र जनताको राष्ट्र प्रमुखको आवश्यकता भएकोले राजसंस्थालाई पुर्नस्थापना हुनुपर्छ भन्ने मान्यता लिएर आएको बताए । प्रधानमन्त्री बनाउँदा र हटाउँदा विदेशीको इशारामा बन्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै थापाले जनताले देशको प्रधानमन्त्री जस्तो नलागेको दावी गरेका छन ।
अबको व्यवस्था राजा अभिभावक र जनताले आफैले भोट हालेर जिताएको प्रधानमन्त्री चाहिएकोले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने थापाको भनाइ थियो । सरकार आफै तस्करी र भ्रष्टाचारीमा लागेको बताउदै यसको अन्त्य गर्न यो सरकारले नसक्ने ठोकुवासमेत गरेका छन । राजनीतिक नेताहरुको अकर्मण्यताले गर्दा लाखौ युवाहरु विदेश पलायन हुन बाध्य भएको उनको भनाइ छ ।
राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश साहको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष राजिव पराजुली, उपाध्यक्ष तारानाथ लुईटेल, वरिष्ठ नेता बिष्णु भट्टराई,महामन्त्री राजाराम बर्तौला, शम्भु चौरसिया लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij