२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

प्रधानमन्त्रीको चीन भ्रमणप्रति योगेशको टिप्पणी– तीर्थाटन र छुट्टी राम्रो गरी मनाउनुभयो

आइतवार , आश्विन १४, २०८०

काठमाडौं, १४ असोज । 
नेकपा एमालेका सचिव तथा सांसद् योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा दुई देशका बीचमा उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव भट्टराईले भ्रमणका क्रममा ताइवान र तिब्बतको मुद्दामा चीनलाई विश्वस्त पार्न नसकिएको बताए। 

‘प्रधानमन्त्रीको चीन भ्रमणमा जे कुरामा हाम्रो सहमति हुनुपर्थ्यो, जुन मुद्दामा बहस हुनुपर्थ्यो त्यो भएन । सामान्य खुद्रा, मसिना कुराहरू भए,’ उनले भने ।

भट्टराईले प्रधानमन्त्रीको भ्रमणलाई तीर्थाटनको संज्ञा दिएका छन् । उनले भने, ‘प्रधानमन्त्रीले तीर्थाटन पनि गर्नुभयो । छुट्टी पनि राम्रै मनाउनुभयो । तर मुख्यतयाः चीनसँग हाम्रो बीआरआईका सम्बन्धमा भएका सम्झौताहरूको कार्यान्वयन हो । त्यो चाहिँ देखिने गरी केही पनि भएन ।’

उनले बीआरआई परियोजना चीनसँग नेपालको मुख्य एजेण्डा भए पनि सो एजेण्डामा प्रवेश नै नभएको बताए ।