२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

सुन तस्करी छानबिन आयोग : संसद् अवरोध हुन सक्ने एमालेको चेतावनी

आइतवार , आश्विन १४, २०८०

काठमाडौं, १४ असोज । 
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन सरकारले आनाकानी गरेको भन्दै नेकपा एमालेले संसदमा विरोध जनाउने भएको छ । 

प्रमुख प्रतिपक्षी दल एमालेका सचेतक महेश बर्तौलाले आज बस्ने प्रतिनिधिसभा बैठकमा असोज ५ गतेभित्र गठन गर्ने भनिएको समिति नबनाएको विषयले संसदमा काम कारवाही अवरोध गर्ने संकेत गरेका छन् । 

‘असोज १४ गते प्रतिनिधिसभाको बैठक बस्दै छ तर सरकार संसदको बैठकलाई द्वन्द्व र मुडभेडतर्फ धकेल्न चाहन्छ, मुलुकको समग्र राजनीतिलाई अविश्वास, धोकाधडी र आपसी अन्तरविरोधको पथमा लैजाने चेष्टा गर्दैछ,’ उनले सम्भावित घटनाबारे संकेत गर्दै भनेका छन, ‘सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय छानबिन तथा अनुसन्धानको लागी उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भयो । त्यो सहमतिलाई संसदको बैठकले अनुमोदन पनि गर्यो तर त्यसलाई कार्यान्वयन गर्न सरकार तयार भएन, बरु उल्टै अनेकौं बहानाबाजी गर्दै प्रमुख प्रतिपक्षीमाथि मिथ्या भ्रम छर्न दिउँसै रात पार्ने प्रपंच चलिरह्यो ।’ 

‘असोज ५ पछि धेरै दिनहरू बितिसक्यो तर आयोग बनेन, सहमतिप्रति सरकारले पुरै धोका दियो,’ उनले सामाजिक सञ्जालबाट भनेका छन, ‘सरकारले दिएको धोकाको सावाँ र ब्याजसहितको समग्र हिसाबकिताब त भोलि (आज) बस्ने संसदको बैठकमा राम्रैसँग हुने नै छ ।’