२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

भीम अस्पतालबाट वार्षिक ९६ हजारलाई उपचार

शनिवार , आश्विन १३, २०८०

भैरहवा, १३ असोज । 
रुपन्देहीको जिल्ला अस्पताल भीमले पछिल्लो एक वर्षमा स्वास्थ्य सेवामा धेरै सुधार गरेको छ । भैरहवा क्षेत्रको सबैभन्दा पुरानो र सरकारी अस्पतालको रुपमा रहेको अस्पताल ५० शैय्याको सूचीकृत रहे पनि १ सय ७ शैय्याबाट सेवा दिदै आएको छ ।

अस्पतालले आर्थिक वर्ष २०७९/०८० मा आकस्मिक र बहिरंग सेवामा ९५ हजार ९ सय ४३ जनालाई सेवा प्रदान गरेको छ भने सञ्चालित स्वास्थ्य कार्यक्रमहरु उत्कृष्ट रहेको र केहीमा सुधार गर्नुपर्ने देखिएको वार्षिक समिक्षामा औल्याएको छ ।

लुम्बिनी प्रदेशका अस्पतालहरुमध्ये न्यूनतम स्वास्थ्य मापदण्ड कार्यान्वयन तथा सेवा प्रदानमा भीम अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो स्थानमा रहेको छ । ‘यो स्थान ल्याउन एक जनाले सम्भव छैन, भीम अस्पतालले कर्मचारीको सामूहिक प्रयासले अस्पतालले प्रगति हासिल गरेको हो, ’अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा.मोहम्मद नुरुल होदाले भने ।

मेडिकल सुपरीटेण्डेण्ट डा. नुरुलले अस्पतालले बिमा अन्तर्गतको रकम समायोजन हुन नसक्दा समस्या भएको बताए । विमावापत दावी गरिएको रकम २ करोड २४ लाख रुपैयाँमा प्राप्त भएको रकम १ करोड ६४ लाख रहेको र ६० लाख भुक्तान हुन बाँकी रहेको जनाए ।

अस्पतालको सेवाहरु विस्तार हुँदै जाँदा स्वास्थ्य सेवा लिनेको संख्यामा बढोत्तरी भएको छ । यस प्रदेशकै पहिलो जिल्ला अस्पतालको रुपमा सिटीस्कयान सेवा सुरु २४ घण्टा दिदै आएको छ भने बहिरंग सेवामा मात्रै दैनिक ३०० बढी बिरामीहरु सरदर अस्पताल आइरहेको तथ्यांक छ । २०७४ सालदेखि फार्मेसी सञ्चालन गर्दै आएको अस्पतालमा अहिले ५ सय भन्दा बढी प्रकारको औषधी रहेको छ ।

यस्तै प्रयोगशाला, सर्जरी, भिडियो एक्स–रे (रोडीयोलोजी), बहिरंग र प्रसुतिमा पनि सेवाग्राही बढिरहनु,पूर्वाधार निर्माण र उपकरणहरु थपिएसँगै भएकै जनशक्तिमा सेवा दिनुपर्ने बाध्यात्मक अवस्था रहेको छ । सरकारी सेवा बाहेकका अन्य सेवाहरु पनि अस्पतालले विस्तार गर्न लागेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले विगतको वर्ष भन्दा अहिले अस्पतालमा धेरै परिवर्तन आएको बताउँदै दैनिक सबै क्षेत्र गरेर करिब ७ सयले अस्पतालको विभिन्न सेवा लिरहेको बताए । विगतमा ३ करोडको आय व्यय हुने यो अस्पतालमा पुरानै जनशक्तिको अधिकतम प्रयोग गर्दै १२ करोडसम्मको बजेट अहिले पुर्याएका छौ ।

विशेषज्ञ सेवा विस्तार र भिडलाई व्यवस्थापन गर्न विशेषज्ञ डाक्टरहरु विकास समितिबाट नै व्यवस्थापन गर्ने योजना बनाएको, फोहोर व्यवस्थापन, भिड व्यवस्थापन र अस्पतालको सौन्दर्यीकरणको काम गर्नुपर्ने अतिआवश्यक भए पनि प्रदेश सरकार र संघीय सरकारले चासो नदिएको बताए ।

१९९० सालमा बनेको भवनबाट सेवा दिनुपर्ने बाध्यता छ, यहाँबाट मन्त्रीसम्म बनाएर जनताले पठाए तर यहीको जनताको स्वास्थ्य उपचारका लागि एक रुपैयाँ पनि बजेट नपार्नु दुःखद भएको बताउँदै अध्यक्ष भण्डारीले मन्त्रालयले बुटवललाई करोडौ दिदा भीमलाई पक्षपात गरेको बताए ।

रुपन्देहीको पुरानो अस्पतालको रुपमा रहेको यसलाई सुधार गर्न निजी क्षेत्रबाट सहयोग निरन्तर भइरहेको छ । अस्पतालका अहिले थुप्रै दाताहरुले सहयोग गरिरहेको कारण जनताले स्वास्थ्य सेवामा सुधारको अनुभूति पाएका छन् ।

कोभिडको समय सरकारले दिनुपर्ने केस वेडकै पैसा हामीले नपाएकै कारण स्वास्थ्यकर्मीले जोखिम मोलेर गरेको कामको भत्ता पनि नपाएको बताए । अस्पताललाई भित्रबाट बलियो बनाउन समिति प्रयासरत रहेपनि जनशक्तिको हकमा १ वेडको जनशक्ति आवश्यक यस अस्पतालमा ७०० विरामीलाई २५ वेडको जनशक्तिले कुनै पनि हालतले नपुग्ने बताए ।

‘कोरोनाको बेला भीम अस्पतालले उत्कृष्ट काम गर्न सफल भएको छ अझै पनि सेवा सुधार गर्दे बिरामीलाई सेवा लिन अस्पतालबाहिर नजाने गरी व्यवस्थापन गरिरहेका छौं, ’भण्डारीले भने ।

तत्कालिन प्रधानमन्त्री भीम समशेरको शासनकालमा ३ शैयाबाट स्थापित अस्पताल वि.स. २०३५ सालमा १५ सैयामा र २०४१ सालमा २५ सैयामा स्तरोन्नति भयो । आ.व. २०७७७/८ मा २५ सैयाबाट ५० सैयाको लागि प्रस्तावित भएको अस्पताल १०० शैयाको अस्पतालको रुपमा सरकारले घोषणा भयो ।

हाल नेपाल सरकारको प्रस्तावित ५० सैयाबाट चलेको अस्पतालमा भीम अस्पताल विकास समितिको आर्थिक श्रोत एवं व्यवस्थापनबाट थप गरि कूल १०७ शैया सञ्चालित छ । स्वीकृत प्राप्त भएपनि सीमित जनशक्तिमा (दरबन्दी अनुसारको जनशक्ति नभएपनि) सञ्चालित छ ।

समिक्षामा बोल्दै स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका तथ्यांकक अधिकृत रामजनम कुर्मीले अस्पतालले निकै उपलब्धि गरे पनि तथ्यांक प्रविष्टीमा केही त्रुटीहरु रहेकोले यसलाई सुधार्दै जानुपर्ने बताए । निमित्त निर्देशक समेत रहेका कुर्मीले स्वास्थ्यकर्मीको गोली भन्दा बोलीले विरामीले राहत हुने हुदा व्यवहार वा बोलीमा नम्रता देखाउनुपर्ने, अस्पताल प्रवेश गर्ने बितिकै को कता जाने सेवाग्राहीले आफै बुझने गरी व्यवस्थापन गर्नुपर्ने, फोहोरमैला व्यवस्थापन, पानीको व्यवस्थापन, सामाजिक परिक्षण लगायतको क्षेत्रमा अझै काम गर्नुपर्ने बताए । उनले अस्पताल व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न निर्देशनालयलाई जानकारी गराउने र समाधनका लागि पहल गर्ने बताए ।

कार्यक्रममा बोल्दै रुपन्देहीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सरकारी अस्पताल जनताको बाध्यताको गन्तव्य भन्दा रोजाइको क्षेत्र पर्न सक्नुपर्ने, अस्पतालको गेटबाटै बिरामी प्रवेश गर्नासाथ आफू पूर्ण रुपमा सञ्चो हुने विश्वासको वातावरण हुनुपर्ने बताए । उनले अस्पतालमा बिरामी पस्नासाथ कुन कुन सेवा कहाँ कहाँ उपलब्ध छ ? भन्ने बारेमा सहजै पत्ता लगाउन सक्ने गरी सेवा दिनुुपर्ने बताए ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उपमाकान्त चपाईंले विगतमा भन्दा भीम अस्पतालले विगतको वर्षभन्दा धेरै सुधार गरेको, प्रदान गरेको सेवा सुविधा गुणस्तरीय रहेको र अझ सुधार गर्न सुझाव दिए । मुस्कानसहितको सेवाले धेरै प्रगति हुनुका साथै विरामीमा पनि राम्रो सन्देश जाने बताउँदै दरबन्दी, साधनस्रोत र समयमा पैसा निकासा नभएको समस्याका बारेमा सम्बन्धित निकायमा पहल गर्ने बताए ।