
शनिवार , आश्विन १३, २०८०
रुपन्देही, १३ असोज ।
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले सन्तोष बाठाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । बाठा रोल्पाका हुन् ।
अधिवेशनबाट उपाध्यक्षहरुमा नारायण भुसाल, मदन भण्डारी, सरोज ठकुरी, सचिवमा रमेश ढकाल, सह–सचिवमा मनिषा ज्ञवाली, शोभाखर गिरी र कोषाध्यक्षमा अन्जित खनाल निर्वाचित भएका हुन् ।
त्यसै गरी कार्यालय सचिव तथा संगठन विभाग प्रमुखमा हेमन्त घिमिरेसहित ५१ सदस्य सर्वसम्मत निर्वाचित भएका हुन् । शुक्रबार उद्घाटन भएको अधिवेशन रातभरको तयारीपछि शनिबार बिहान सर्वसम्मत घोषणा गरिएको थियो । एमाले केन्द्रीय सदस्य तथा विद्यार्थी इञ्चार्ज किशोरविक्रम मल्लले निर्वाचित नेतृत्वको घोषणा गर्दै पार्टीले बनाएका योजना कार्यान्वयनमा पूर्ण रुपले लाग्न निर्देशन गरेका थिए ।
शुक्रबार भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल, पूर्वकेन्द्रीय अध्यक्ष तथा एमाले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij