२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

‘सचेत होऔं, क्यान्सर जित्न सकिन्छ’

शनिवार , आश्विन १३, २०८०

भैरहवा, १३ असोज ।
खानपान र दैनिकीमा परिवर्तन तथा नियमित स्वास्थ्य परीक्षण गर्ने बानी बसाल्न सके क्यान्सर रोगबाट बच्न सकिने क्यान्सर रोग विशेषज्ञहरुले बताएका छन् । नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर र नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजना तथा लुम्बिनी प्रेस क्लब, रुपन्देहीको सहयोगमा शुक्रबार भैरहवामा आयोजित क्यान्सरसम्बन्धि सचेतना कार्यक्रममा बोल्दै क्यान्सर रोग विशेषज्ञहरुले पछिल्लो समयमा नेपालमै सबै प्रकारको क्यान्सरको उपचार हुने भए पनि विदेश ताक्ने प्रवृत्ति कायमै रहेको उल्लेख गर्दै देशभित्रै क्यान्सरको उपचार सर्वसुलभ गराउन सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठले अहिले वर्षेनी २० हजारको संख्यामा नयाँ क्यान्सर रोगी थपिने गरेको र वर्षमा १३ हजारको संख्यामा यो रोगबाट ज्यान गुमाउने गरेको जानकारी दिए । उनले फोक्सो, पाठेघर, पेट, स्तन, मुख लगायतको ठाउँको क्यान्सरले मानिसहरुको ज्यान लिइरहेको तर पहिलो चरणमै उपचारमा आउने हो भने अपवादलाई छाडेर निको हुने दावी गरे ।

डा.श्रेष्ठले नेपालमा सबै प्रकारको क्यान्सर उपचार हुने गरेको भए पनि सबै नागरिकको पहुँचमा उपचार सेवा पुग्न नसकेको बताए । कतिपय औषधिहरु नेपालमा सजिलै आयात गर्न सकिदैन, चिकित्सकको प्रेस्किप्सन आवश्यक पर्छ, उनले भने, ‘सरकारले औषधि नीति समयसापेक्ष गराउन र सबै प्रदेशहरुमा क्यान्सर परीक्षण सेवा विस्तार गर्न आवश्यक रहेको छ ।’

जनचेतना फैलाउन र समयमै परीक्षण गरी उपचारको दायरामा ल्याउन सके क्यान्सर उपचार कम खर्चमै हुने गरेको भए पनि तेस्रो चौथो चरणमा मात्र रोग पत्ता लाग्दा उपचार खर्च थेग्न नसकिने अवस्था रहेको डा.श्रेष्ठले जानकारी दिए । उनले सर्वसाधारणलाई सहज उपचार सेवा पुर्याउन बीमामार्फत सम्पूर्ण उपचार खर्च उपलब्ध हुने नीति अवलम्बन गर्न आवश्यक रहेको औल्याए । डा. श्रेष्ठले अझै पनि क्यान्सरको उपचारका लागि दक्ष जनशक्ति र उपकरण उपलब्धता नरहेको पनि बताए ।

नेपाल क्यान्सर अस्पतालका निर्देशक तथा क्यान्सर सपोर्ट ग्रुपका उपाध्यक्ष डा.स्वरुपा श्रेष्ठले क्यान्सरको नाम लिनासाथ डर त्रास फैलिने र हतोत्साही हुने प्रवृत्ति रहेको उल्लेख गर्दै आत्मबल बढाउन सके रोगलाई जित्न सकिने दावी गरिन् । उनले नेपालमै दक्ष जनशक्ति र अत्याधुनिक प्रविधि उपलब्ध भए पनि उपचारका लागि भारत जाने प्रवृत्ति रहेको र सोझा नेपालीहरु ठगिने गरेको पाइएको उल्लेख गर्दै राज्यले त्यसलाई रोक्न पहल गर्नुपर्ने बताइन् ।

धनी मानिसहरु पहिलो चरणको क्यान्सर उपचारका लागि विदेश जाने र निको हुने गरेको तर पैसा नहुनेहरु तेस्रो चौथो चरणमा पुगेपछि मात्र अस्पतालको पहुँचमा जाँदा रोगलाई जित्न नसक्ने गरेको अनुभव उल्लेख गर्दै उनले घर खेत बेचेर उपचारमा खर्चिनुपर्ने अवस्था आउन नदिन सुरुवाती अवस्थामै रोग पत्ता लगाउनुपर्ने बताइन् ।

क्यान्सर रोग बिशेषज्ञ तथा वरिष्ठ सर्जन डा.प्रभात ठाकुरले धुम्रपान, मद्यपान, आनुबंशिक, पोषक तत्व, विकिरणजस्ता कारणले नाक, कान र घाँटीको क्यान्सर हुने गरेको उल्लेख गर्दै पहिलो चरणमै उपचारमा आएमा कम खर्चमा ९० प्रतिशत बिरामी निको पार्न सकिने बताए । तौल घट्ने, मुखमा लागेको घाउ लामो समयसम्म निको नहुने, रगत आउने, थकान लाग्ने जस्ता लक्षण देखिएमा क्यान्सर हुन सक्ने जानकारी दिदै डा. ठाकुरले क्यान्सरको सुरुवाती अवस्थामा रोग पत्ता लाग्न नसक्नु ठूलो समस्याको रुपमा रहेको औल्याए ।

स्तन तथा पाठेघरको क्यान्सर वरिष्ठ विशेषज्ञ डा. अनु शाक्य बज्राचार्यले पाठेघरको क्यान्सरविरुद्ध खोप लगाउन सुझाव दिइन् । उनले वर्षमा एकपटक पाठेघरको जाँच गर्न आग्रह गर्दै पेटसम्बन्धि समस्या देखा परेमा आफै जान्ने भएर ग्याष्ट्रिकको औषधि खाएर बस्ने प्रवृत्ति रहेको उल्लेख गर्दै यससम्बन्धि व्यापक आवश्यकता रहेकोमा जोड दिइन् ।

नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष दिलिप भट्टराईले पछिल्लो दिनमा क्यान्सर रोग भयावह बन्दै गैरहेको बताए । उनले विश्वभर प्रत्येक वर्ष क्यान्सरका ३ करोड बिरामी थपिने र २ करोडको मृत्यु हुने गरेको जानकारी दिदै खानपान र जीवनशैली परिवर्तन गरी नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिए । क्यान्सर रोग नियन्त्रणका लागि क्यान्सर सपोर्ट ग्रुपमार्फत जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको र बिरामीहरुलाई आत्मबल प्रदान गर्न सके रोगलाई जित्न सकिने पनि उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले व्यस्त दैनिकी, रिपोर्टिङ्गमा खट्दा खानपानमा ख्याल गर्न नसकिने अवस्था र पेशागत हिसाबले पत्रकारहरु पनि क्यान्सरको जोखिममा रहेको उल्लेख गर्दै भैरहवामा कार्यक्रम आयोजना गरेकोमा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर एवं विशेषज्ञ चिकित्सकहरुलाई धन्यवाद ज्ञापन गरिन् । 
लुम्बिनी प्रेस क्लबका सचिव तथा प्रवक्ता प्रकाश न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।