२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

हाम्रा अगाडि चुनौती छन् तर कांग्रेस सकिसक्यो भन्ने होइन : उदय राणा

शनिवार , आश्विन १३, २०८०

सिन्धुली, १३ असोज । 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले कांग्रेस सम्हालिएर अगाडि बढ्ने बेला आएको बताएका छन् । शुक्रबार सिन्धुलीमा पार्टीका नेता कार्यकर्तासँगको अन्तर्क्रिरयामा उनले नयाँ राजनीतिक शक्तिको उदयलाई सामान्य रुपमा लिन नहुनेमा जोड दिँदै कांग्रेस पनि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताए । 

उनले भने,  ‘नयाँ पार्टीहरुको उदयलाई सामान्य रुपमा लिनुहुन्न । तर अब सबै सकिसक्यो भनेर अत्तालिनुपर्दैन । सम्हालिएर हिड्ने समय आएको छ । हाम्रो काम गर्ने तरिका बदल्नुपर्छ ।’ 

पूर्व अर्थराज्यमन्त्री एवं कांग्रेस नेता राणाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित बनाएर संगठनलाई सक्रिय बनाउनुपर्ने बताए । उनले नेतृत्व परिवर्तनको कुरा गरेर मात्रै नहुने स्पष्ट पारे । 

‘नेतृत्व परिवर्तन भनेर मात्रै हुँदैन । हामी सबै पार्टीको वडा तहदेखि नै निर्वाचित भएर आएका हौं । पार्टीभित्र गुट उपगुट हुन्छन् । आन्तरिक प्रतिष्पर्धाले नै पार्टीलाई जिवन्त बनाउने हो । तर त्यसलाई व्यवस्थित बनाउन जरुरी छ ।

वडादेखि केन्द्रसम्म हामी सबैले जिम्मेवारीवोध गरेर संगठनलाई चलायमान बनाउनुपर्छ,’ उनले भने । उनले कांग्रेस एकताबद्ध भए कांग्रेसलाई कसैले हराउन नसक्ने दावी गरे ।