२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

पितृ विसर्जन तथा शव दहन स्थलको जग्गा व्यक्तिको नाममा दर्ता

बिहिवार , आश्विन ११, २०८०

भैरहवा, ११ असोज । 
रुपन्देहीमा भुमाफियाले मानिसको मृत्युपश्चात दाहसंस्कार गर्ने जग्गासमेत विक्री गरेर व्यक्तिको नाममा बनाएको विषय सार्वजनिक भएको छ । लामो समयदेखि स्थानीयले संरक्षण गरेको यो जग्गा अर्कै व्यक्तिले पास गरेपछि सो क्षेत्रका जनप्रतिनिधिसमेत आश्चर्यमा परेका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक घाघरा खोला छेउमा रहेको साविक भुजौली ७ क मा पर्ने कित्ता नं ६१ मा रहेको पितृ विसर्जन तथा शव दहन स्थल रहेको १ विगाहा ११ कट्ठा ५ धुर जग्गा नक्कली कागजपत्र तयार गरेर विक्री गरेको खुलेको हो ।

पितृ विसर्जन तथा शव दहन स्थल रहेको जग्गा हडपेर व्यक्तिको नाममा बनाएको सूचना पाएपछि यसलाई रोक्न आफूहरूले लागेको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले बताए । उनले भुमाफियाको खेलमा जग्गा दर्ता भएको बताए । उनले भने, ’अर्घाखाँचीबाट आएर रुपन्देहीमा भुमाफियाले यसरी जग्गा आफ्नो नाममा दर्ता गराउन सक्छन् भने नेपालभरी जग्गा कति धेरै जग्गा गराएका होलान् ? ’

वडाअध्यक्ष यादवले दोषीलाई कानूनी दायरामा ल्याउन माग गरे । उनले यो जग्गा गाउँ समाजले लामो समयदेखि संरक्षण गर्दै आएको बताए । उनले मालपोत कार्यालय रुपन्देहीले पनि प्रमाण लुकाएर कर्मचारी संरक्षणमा त लागेको होइन भन्ने आशंका उब्जिएको बताए । उनले मालपोत कार्यालयले जनताको मागको वेवास्ता गरे अवस्था जटिल हुन सक्ने समेत चेतावनी दिए ।

‘यो कसरी भयो, हामीलाई आश्चर्य भएको छ, हामीले यो सूचना पाएपछि यसका प्रमाण खोज्न तथा मालपोत र प्रशासन कार्यालयलाई रोक्नका लागि लागिपरेका छौं’ वडाअध्यक्ष यादवले भने ।

‘यो जग्गा ४ नम्बर वडामा रहेको आमा समूहले संरक्षण गरेको हो, संरक्षण पनि आमा समूहले गरेको छ, कागजपत्र पनि आमा समूहकै नाममा छ, यो जग्गा रोक्न जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय पुगेका छौं ।  उनले मसानघाट समेत बेच्न खोज्नेलाई कानूनी दायरामा ल्याउनुपर्ने र यो जग्गा जसरी पनि पितृ विसर्जनको लागि बनाइएको र त्यही नाममा आउनुपर्ने उनले बताए ।

प्राप्त विवरणअनुसार यो जग्गा अर्घाखाँचीको साविक मैदान गाविस वडा नम्बर ५ बस्ने नुरपति घिमिरेको नाति, नरपति घिमिरेको छोरा फर्सुराम घिमिरेको नाममा दर्ता भएको छ । स्रेस्तामा नभएको जग्गा कसरी पूर्जा बन्यो, कसरी पास भयो अनि कसरी नगरपालिकामा तिरो तिर्ने काम भयो भन्दै स्थानीयबासीले यो सेटिङबाटै भएको भन्दै छानबीन हुनुपर्ने बताएका छन् ।

मालपोत कार्यालय रुपन्देहीबाट २०७० वैशाख २८ गते फर्सुराम घिमिरेको नाममा दर्ता भएको छ । यस अगाडि उक्त जग्गा पर्ती जग्गा रहेको थियो । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० र ४ का स्थानीयहरूको शव जलाउने घाटका रूपमा सो स्थान प्रयोग हुँदै आएको थियो ।

स्थानीयहरूको टोली जिल्ला मालपोत कार्यालयमा पुगेर दोषीलाई कडा कारवाहीको माग गर्दै जग्गा फिर्ता गर्नका लागि पहल गरिदिन मालपोत प्रमुखसँग आग्रह गरेका छन् ।

स्थानीय तथा फूलबारी समाजका अध्यक्ष हुकुमराज गुरुङले २०४८ सालमा पनि पितृ विसर्जन तथा शव दहन स्थल रहेको जग्गा एक जना व्यक्तिले आफ्नो हो भन्दै हकदावी गरेको र पछि २०४९ सालमा सार्वजनिक जग्गा भएको भन्ने अदालतबाट मुद्दा फैसला भएको बताए । २०४६ सालपछि सिद्धार्थनगर नगरपालिकाका मेयर डा. बलराम गौतमको कार्यकालमा दाहसंस्कार स्थानका रूपमा सुरु भएको थियो । उनले दोषीलाई कारवाही गर्न माग गरे ।

स्थानीयकाअनुसार सो ठाउँलाई घाटको रूपमा प्रयोगको लागि २०४९ सालमा स्थानीयवासी र सिद्धार्थनगर नगरपालिकाको सहयोगबाट विश्राम सेड घर र दाहसंस्कार गर्न स्थान तैयार गरिएको थियो ।

bbb.jpg

त्यसपछि विभिन्न समयमा २०५४ सालमा संस्था, जिल्ला विकास समिति रुपन्देही र सिँचाइ कार्यालय रुपन्देहीको सहयोगमा उत्तरतर्फ नदी कटान रोक्नको लागि तटबन्ध गरिएको थियो ।त्यस्तै वृक्षारोपण, पर्खाल निर्माण र तारबार गरिएको थियो । २०६२ सालमा पनि लुम्बिनी युवा ग्रामीण विकास संघ र हेफर ईण्टरनेशनलबाट वृक्षारोपण कार्य गरिएको थियो । २०६८ सालमा स्थानीयबासी र सिद्धार्थनगर नगरपालिकाको सहयोगबाट पितृ विसर्जन उपभोक्ता समिति गठन गरी घाटको सुदृढीकरण गरिएको थियो ।

मालपोत कार्यालय रुपन्देहीका प्रमुख मालपोत अधिकृत कुमार आचार्यले आफू जिल्लामा आउनु अगावै नै यो काम भएको हुन सक्ने र यसको छानबीन थालिएको जानकारी दिए । मालपोतको रेकर्डअनुसार उक्त जग्गाको जग्गाधनी पुर्जा २०७० सालमा जारी गरिए पनि मालपोतमा भने २०७१ सालमा दर्ता गरिएको छ भने वडा १० को कार्यालयमा एकमुष्ट तिरो पछिल्लो वर्ष तिरिएको छ ।

mnsndsk.jpg

‘कागजपत्र सबै हेर्दा यो सिधै जालसाजी हो भन्ने ठहर हुन्छ, स्वतः खारेजीमा जान्छ तर यो काम कसरी भयो भन्ने विषय छानबीन हुन जरुरी छ, यसलाई व्यक्तिको नामबाट खारेज गरी सार्वजनिक जग्गा कायम गराउन प्रतिवद्ध छु’ आचार्यले भने ।

उनले फर्सुराम घिमिरे भन्ने व्यक्तिको नाममा २०७१ सालमा कम्प्युटर इन्ट्री भएको देखिएको र मालपोत कार्यालयमा यसको श्रेस्ता–पूर्जा नरहेको बताए । उनले शंकास्पद रुपमा जग्गा दर्ता भएको बताए । उनले भने, ‘यस कार्यालयबाट नभइ बुटवलबाट दर्ता भएको देखियो । थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाइएको छ । ’