
मंगलवार , आश्विन ९, २०८०
रुपन्देही, ९ असोज ।
समाजवादी मोर्चा, नेपाल लुम्बिनी प्रदेशले ‘नेपाली विशेषताको समाजवाद’ बारे बृहत अन्तरक्रिया गर्ने भएको छ । मंगलबार सम्पन्न मोर्चाको लुम्बिनी प्रदेश समितिको बैठकले नेपाली परिवेश सुहाउँदो समाजवादको अन्तरवस्तुबारे छलफल गर्ने उद्देश्यले लुम्बिनी प्रदेशका तीन जिल्लाहरु रुपन्देही, दाङ र बाँकेमा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको हो ।
मोर्चाले लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्ला तथा स्थानीय तहहरुमा मोर्चाको केन्द्रीय कार्यविधि अनुरुप प्रत्येक पार्टीका २/२ जना सदस्य रहने गरी असोज मसान्तभित्र जिल्ला समितिहरु तथा कात्तिक १५ गतेभित्र स्थानीय तह समितिहरु गठन गर्ने निर्णय गरेको मोर्चाका प्रदेश समिति सदस्य मनिकर कार्कीले बताए ।
त्यस्तै मोर्चाले राष्ट्रियता, समाजवाद र जनजीविकाका सवालमा जनजागरणमुखी संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने तथा लुम्बिनी प्रदेश सरकारलाई समसामयिक जनचासोका विषयमा ध्यानाकर्षण गर्ने समेत निर्णय गरेको कार्कीले बताए ।
सरकारमा रहेका नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेकपा (एकीकृत समाजवादी) सहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच समाजवादी मोर्चा बनेको हो ।
सो मोर्चाले गत भदौ १२ गते रुपन्देहीको बुटवलमा लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय सन्देशसभा गरी मोर्चाको लुम्बिनी प्रदेश समिति घोषणा गरेको थियो । मोर्चाको प्रदेश समितिमा प्रत्येक पार्टीका ३/३ जना गरी कूल १२ सदस्य रहेका छन् ।
मोर्चाको कार्यविधि अनुसार मोर्चामा आबद्ध प्रत्येक दलले ४/४ महिनाका लागि आलोपालो प्रणाली अनुसार नेतृत्व गर्नेछन् । सोही प्रावधानअनुरुप सुरुको मोर्चाको केन्द्रीय समितिको नेतृत्व नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले गरेका छन् भने लुम्बिनी प्रदेश समितिको सुरुको नेतृत्व नेकपाका बसन्त सीले गरेका छन् ।
नेपाली मौलिकता र विशेषता अनुरुपको समाजवादी कार्यदिशा तय गर्ने लक्ष्यका साथ घोषित समाजवादी मोर्चाले संघर्षका सबै मोर्चामार्फत खबरदारी गर्दै जनजीविका र जनसंघर्षका कार्यक्रमहरुमार्फत समाजवादको आगामी मार्ग पहिल्याउने योजना तय गरेको मोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बसन्त सीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij