२०८२, श्रावण १९ गते

Aug 04 2025 | २०८२, श्रावण १९ गते

रुपन्देहीका सरकारी कार्यालयहरुको वार्षिक प्रगति समिक्षा 

सोमवार , आश्विन ८, २०८०

भैरहवा, ८ असोज । 
जिल्ला समन्वय समिति रुपन्देहीले जिल्लाभित्र रहेका संघीय र प्रदेश कार्यालयका प्रमुख तथा सरोकारवालासँग वार्षिक प्रगति समिक्षा गरेको छ । 

जिल्लामा रहेका संघीय तथा प्रदेश कार्यालयका प्रमुखसँग आर्थिक वर्ष २०७९/०८० मा सम्पादन गरेका कामको समिक्षा गरिएको हो । 

जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा जिल्लाका १४ वटा कार्यालयका प्रमुख तथा प्रतिनिधिले आर्थिक वर्ष २०७९/०८० मा सम्पादन गरेका कामको विवरण सार्वजनिक गरेका थिए । 

समिक्षा कार्यक्रममा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले आफ्ना कार्यालयले एक वर्षमा गरेका कार्यप्रगतिबारे एक आपसमा जानकारी गराएका थिए । उनीहरुले समयमा बजेटको अख्तियारी नआउने, ठेक्का सम्झौता समयमा नहुने तथा निर्माण व्यवसायीको लापरवाहीको कारण समस्या हुने गरेको उल्लेख गरे ।  उनीहरुले एक वर्षमा भएका भौतिक पूर्वाधार, खर्चको अवस्था, बेरुजु, काम गर्दा भोग्नु परेका अप्ठ्याराका बिषयलाई प्रस्तुतीकरण गरेका थिए ।  

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यहरु भगवती घिमिरे अधिकारी, हेमा बेल्बासे के.सी., शान्ति लोधको उपस्थिति रहेको थियो । 

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्यहरुले संघीय र प्रदेश मातहतका कार्यालयहरुले तोकिएको समयावधीभित्रै विकास निर्माणका काम सम्पन्न गर्न आग्रह गरेका छन् ।