
आइतवार , आश्विन ७, २०८०
बुटवल, ७ असोज ।
पत्रकार सन्जु पौडेल उत्कृष्ट ‘लोक पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएकी छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीले शनिबार पौडेललाई सम्मान गरेको हो । उनी कान्तिपुर पब्लिकेशनमा कार्यरत छिन् ।
प्रतिष्ठानको १५ औं वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष विजय सापकोटा र कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सल्लाहकार तथा संरक्षक खेमबहादुर हमालले संयुक्त रुपमा पौडेललाई दोसल्ला ओढाएर नगदसहित सम्मान गरेका हुन् ।
प्रतिष्ठानले हरेक वर्ष रुपन्देहीलाई कार्य क्षेत्र बनाएर पत्रकारितामा क्रियाशिल रहेकालाई प्रदान गर्दै आएको छ ।
कार्यक्रममा सरोकारवालाहरुले लोक दोहोरी गीतको संरक्षणमा सरकारले चासो नदिएको सरोकारवालाहरुले गुनासो गरेका छन् । अहिले तीन तहको सरकार रहे पनि सरकारले नेपालीको पहिचानको रुपमा रहेको लोक दोहोरी गीतको संरक्षण र प्रर्वद्धनमा ठोस कदम चाल्न नसकेको उनीहरुले बताए र
साधारणसभामा बोल्दै केन्दीय सल्लाहकार खेम बहादुर हमालले लोक दोहोरीको संरक्षणमा सरकार उदासिन भएको बताए । उनले लोक दोहोरी नेपालीहरुको पहिचान भएको भन्दै यसको लागि सबैले हातेमालो गरेर संरक्षण र प्रर्वद्धन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव दिपक गरौजा, केन्द्रीय सह–सचिव सीता राना मगर, केन्द्रीय सदस्य पुरुषोत्तम भण्डारी, डिल्ली नारायण पाण्डेय, निर्वतनामा केन्द्रीय सचिव प्रचण्ड जिसी, पूर्व केन्द्रीय सदस्य नाराण खनाल, प्रदेश अध्यक्ष दिपु मगर, पत्रकार हरिष ढकाल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । सोही कार्यक्रममा लोक कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव विधान कार्कीले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij