
आइतवार , आश्विन ७, २०८०
बुटवल, ७ असोज ।
लुम्बिनी प्रादेशिक अस्पतालले सेवा विस्तारसँगै बालबालिका तथा महिला प्रसुतिका लागि छुट्टै काउन्टर सञ्चालनमा ल्याएको छ । अस्पतालमा आइतबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले काउण्टरको शुभारम्भ गरे ।
विस्तारित स्वास्थ्य सेवामा न्यूरो एच.डी.यु (नयाँ भवनमा), एनआइसीयु (बेड विस्तार), एसएनसीयु सेवा थप गरिएको छ । अस्पतालले यसअघि नै ल्याब रिपोर्ट एस.एम.एस सेवा पनि थप गरी सञ्चालन गर्दै आएको छ ।
स्वास्थ्य मन्त्री खनालले प्रदेशको गहनाको रूपमा रहेको अस्पतालका लागि मन्त्रालयले बजेटमा विशेष प्राथमिकतामा राखेको बताए । उनले जनताको विश्वास जितेर विशेषज्ञ सेवा प्रदान गर्न चिकित्सकहरुलाई सुझाव दिए ।
अस्पताललाई तत्काल नभइ नहुने जनशक्ति, उपकरण, भौतिक पूर्वाधारकोबारे लिखित जानकारी गराउन निर्देशन दिदै मन्त्री खनालले कम्तीमा मासिक रूपमा समस्याका बारेमा छलफल गरि समाधान गर्ने प्रयत्न गर्नुपर्नेमा पनि जोड दिए ।
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य सचिव डाक्टर जनार्दन पन्थीले विवाद नआउने गरी पारदर्शी तरिकाले प्रशासन चलाउन र उपचार सेवा थप प्रभावकारी बनाउन निर्देशन दिए ।
अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले सीमित जनशक्तिले धेरै काम गर्नुपर्ने भएको गुनासो गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए । सरकारको अस्पताल सञ्चालन सम्बन्धी कार्यविधिमाथि टिप्पणी गर्दै श्रेष्ठले ५ सय शैय्याको अस्पतालका लागि १६ सय जनशक्ति आवश्यक पर्नेमा ७ सय शैय्याको लुम्बिनी प्रादेशिक अस्पतालमा ७ सय जनशक्तिले काम चलाउनुपरेको गुनासो गरे । त्यसै गरी २ सय शैय्या क्षमताको अस्पताललाई प्रदेश सरकारले नियमन गर्ने भनिए पनि ५ सय सैय्याको क्षमताभन्दा माथिका अस्पताललाई प्रदेश सरकारले हेर्नुपरेको भन्दै त्यसको व्यवस्थापनबारे छलफल चलाउन आवश्यक रहेको बताए ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुर्दशन थापा क्षेत्रीले सेवा विस्तारसँगै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गर्न आउने बिरामीको लागि सहज भएको बताए । उनले अब केही समयमै क्याथ ल्याब सञ्चालनको तयारी भैरहेको बताए । डा. थापाले अस्पतालमा पीआईसीयु प्रसूति सेवा, बर्थिड सेन्टर, निसन्तान क्लिनिक सेवा सुरु भएपछि आएका बिरामीलाई वाहिर रिफर गर्नुपर्ने समस्या अन्त्य भएको बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पतालको विकास र सेवाको लागि सबैको ध्यान जान जरुरी रहेको बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अस्पतालको सेवा विस्तारसँगै अस्पतालमा आउने बिरामीलाई राहत हुने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij