२०८२, श्रावण १९ गते

Aug 04 2025 | २०८२, श्रावण १९ गते

भैरहवामा राजकिशोर यादवले भने– आर्थिक क्रान्तिको नेतृत्व जसपाले गर्नुपर्छ

आइतवार , आश्विन ७, २०८०

भैरहवा, ७ असोज ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज राजकिशोर यादवले अब देशलाई समृद्ध बनाउन, आर्थिक क्रान्ति र जनतालाई मालिक बनाउने अभियानको नेतृत्व जसपाले गर्नुपर्ने बताएका छन् । उनले जसपामा समयको गतिमा हिंड्ने नेतृत्व र टीम भएको दावी गरे ।

शनिबार भैरहवामा भएको जसपा निकट समाजवादी युवा संघ नेपाल रुपन्देहीको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै यादवले जसपा पार्टी मात्र नभइ एउटा क्रान्तिको नाम भएको बताए । उनले भने, ‘जसपा परिवर्तनको आधी ल्याउने पार्टी हो । ’ पार्टीले समृद्ध नेपाल बनाउने लक्ष्य लिएर अघि बढेको बताए ।

पूर्वमन्त्रीसमेत रहेका नेता यादव नेपालको अवस्था चिन्ताजनक रहेको बताए । उनले दैनिक हजारौं नेपाली विदेशिनुपर्ने अवस्था आउनुमा को जिम्मेवार छन् भन्दै प्रश्न गरे ।

कांग्रेस, एमाले र माओवादीले नभइ जसपाको अगुवाइमा भएको मधेश जनविद्रोहले देशमा परिवर्तन भएको उनले जिकिर गरे । उनले परिवर्तनलाई उल्टयाउने षडयन्त्र भइरहेको बताए ।
प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति समेत रहेका यादवले देशको समस्या अब ठूला पार्टीबाट समाधान हुन नसक्ने दावी गरे ।

उनले भने, ‘भ्रष्टाचार काण्डले मुलुकको आर्थिक अवस्था जर्जर छ । ’ नेता यादवले युवा न्यायको पक्षधरता र क्रान्तिको पर्यायवाची भएकाले युवाहरु अझ जिम्मेवार बन्नुपर्ने बताए ।

जसपा युवाहरुको पार्टी भएको उनको भनाइ छ । उनले भने, ‘जसपाको केन्द्रीय समितिमा ४० प्रतिशत युवाहरुको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।’

त्यस्तै जसपाका राजनीतिक समिति सदस्य मनिकर कार्कीले संघीयताबाट पछाडि हट्ने कुरा कदापी स्वाकार्य नहुने बताए । उनले परिवर्तन मन नपराउने दलले संघीयताको विरोध गरेको बताए । उनले भने, ‘सबै नागरिकलाई राज्यको पहुँचसम्म पुर्याउन संघीयता आवश्यक छ । ’संघीयताप्रति प्रश्न उठिरहेकोले यसबारे जनतालाई बुझाउनुपर्ने उनले बताए ।

नेता कार्कीले जनसंख्याको अनुपातमा समावेशी प्रतिनिधित्व आवश्यक रहेको बताए । जसपाले समाजवादको विकल्पलाई आत्मसात गरेर समाजवादी दिशातर्फ अग्रसर भइरहेको उनको भनाइ छ । 

जसपा केन्द्रीय सदस्य महेन्द्र यादवले जनतालाई दुःखसुखमा साथ दिने र अधिकार दिलाउने पार्टी जसपा भएको दावी गरे । उनले २०७४ सालको निर्वाचनमा जसपा रुपन्देहीमा दोस्रो शक्ति भएको र अब २०८४ मा पार्टीलाई पहिलो शक्ति बनाउनुपर्नेमा जोड दिए । 

पार्टीकी केन्द्रीय सदस्य रीता यादवले जसपा सबैको पार्टी भएको बताइन् । उनले पार्टीलाई अझ मजबुत बनाए कुनै दलसँग गठबन्धन गर्नु नपर्ने बताइन् ।

समाजवादी युवा संघकी केन्द्रीय उपमहासचिव रेनु राज सिंह, केन्द्रीय सचिव ठाकुर रितु राज, अशोक यादव, जसपा संघीय परिषद सदस्य तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, जसपा रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव, क्षेत्र नम्बर ३ का अध्यक्ष जावेद आलम, सिद्धार्थनगर अध्यक्ष उज्जवल पोखरेल, समाजवादी विद्यार्थी युनियन रुपन्देहीका अध्यक्ष विरेन्द्र यादवलगायतले बोल्दै जसपा परिवर्तनको सम्वाहक भएको बताए ।

समाजवादी युवा संघ लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष विकास यादवको अध्यक्षता, जसपा केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर यादवको प्रमुख आतिथ्यता, समाजवादी विद्यार्थी युनियन रुपन्देहीका सचिव कौशलेन्द्र मिश्राको स्वागत तथा समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव राहुल यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।