
शुक्रवार , आश्विन ५, २०८०
बुटवल, ५ असोज ।
गुल्मीको हुँगाका अशोक पौडेल अण्डर–१९ राष्ट्रिय क्रिकेट टीमको बन्द प्रशिक्षणमा परेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर १ स्थित हुँगामा जन्मिएका पौडेल अहिले अण्डर–१९ राष्ट्रिय क्रिकेट टीमको क्लोज क्याम्पमा परेका हुन् ।
बुवा शोभाखर पौडेल र आमा तुल्सा पौडेलको काखबाट जन्मिएका अशोकको बाल्यकाल गुल्मीमै बित्यो । कक्षा १ देखि ३ सम्म गुल्मीमै पढेका उनले कक्षा ४ र ५ भने बुटवलमा रहेको ह्वाईड बोडिङ स्कूलमा पढे । त्यसपछि अध्ययनका लागि उनी काठमाडौं पुगे । क्रिकेट खेलप्रति उनको रुची भए पनि गाउँमा त्यति सहज भएन । उनी अध्ययनकै लागि काठमाडौंमा पुग्दा १२ वर्षको उमेरमा क्रिकेट खेल्न सुरु गरे ।
काठमाडौंमा रहेको ग्रेड हिमालय क्रिकेट एकेडेमीबाट प्रशिक्षण लिएपछि औपचारिक क्रिकेट खेल्न थालेका पौडेल अथक मेहनत र परिश्रमबाट अण्डर–१९ राष्ट्रिय क्रिकेट टीमको बन्द प्रशिक्षणमा परेका हुन् । बन्द प्रशिक्षणमा पर्नुअघि उनले प्रदेशस्तरीय क्रिकेट खेल समेत खेलेका थिए ।
अण्डर–१९ प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा ३ वर्षसम्म बाग्मती प्रदेशबाट खेलेका अशोक बुवा र आमाको प्रेरणाले नै क्रिकेटमा रुची बढ्दै गएको बताउँछन् । अण्डर–१९ मा पहिलोपटक छनोट भए पनि ईन्जुरीका कारण खेल्न नपाएका अशोकले पछि प्रधानमन्त्री कप क्रिकेट खेले ।
नुवाकोटबाट पिएम कप खेलका अशोकले काठमाडौंविरुद्ध ६० रन बनाएका थिए । त्यसपछि फेरी ईन्जोरी भयो । ‘खेल्ने क्रममा ईन्जोरी भएपछि डाक्टरले ४० दिन आराम गर्न सल्लाह दिनुभएको थियो । तर, २० दिनपछि अण्डर–१९ को गेम भएकोले २० दिनमै खेल खेले बाग्मतीबाट । त्यो बेला कर्णालीलाई ५८ रन हानेको थिए’ उनले भने ।
उनले अहिले बन्द प्रशिक्षणमा भए पनि आफू अण्डर–१९ राष्ट्रिय टीममा पर्ने आशा गरेको बताए । आफूले खेल्ने मौका पाए देशका लागि क्रिकेट खेल्ने उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij