२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

संविधानको सीमाभित्र रहेर सहमति खोज्न मानव अधिकार तथा शान्ति समाजको आग्रह

शुक्रवार , आश्विन ५, २०८०

बुटवल, ५ असोज । 
सरकारद्वारा संसदमा प्रस्तुत विद्यालय शिक्षा विधेयकविरुद्धको शिक्षकहरुको आन्दोलन सन्दर्भमा संविधानको सीमाभित्र रहेर सहमति खोज्न मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ । प्रतिनिधि सभामा प्रस्तुत गरिएको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०को विरोधमा नेपाल शिक्षक महासंघद्वारा भइरहेको काठमाण्डौ केन्द्रीत सडक आन्दोलनप्रति मानव अधिकार तथा शान्ति समाजको ध्यानाकर्षण भएको जनाएको छ ।

मानव अधिकार तथा शान्ति समाजले शुक्रबार एक विज्ञप्ती जारी गर्दै लोकतान्त्रिक शासन व्यवस्थामा कुनै पनि विधेयक वा संशोधन विधेयक प्रस्तुत गर्नुपूर्व सरोकारवालाहरुसँग छलफल गर्ने र विश्वासमा लिने दायित्व सरकारको रहेको कुरामा जोड दिइएको छ । 

त्यसै गरी विधेयक वा संशोधन विधेयक प्रस्तुत गर्दा त्यसको कारणहरु खुलाउनुपर्ने र त्यसको दीर्घकालिन प्रभावबारे आंकलन गर्ने दायित्व पनि सरकारको हो भन्दै त्यस्तो दायित्व सरकारले पूर्ण रुपमा बहन गरेको नदेखिएको शान्ति समाजको निष्कर्ष छ ।

समाजका सभापति रामकृष्ण बरालद्धारा हस्तास्क्षर गरिएको विज्ञप्तीमा भनिएको छ, ‘संसदमा पेश हुने  कतिपय विधेयक वा संशोधन विधेयकहरु स्वेच्छाचारी तवरमा प्रस्तुत भएको देखिन्छ जुन लोकतान्त्रिक पद्दतिको मर्मविपरीत छ । जारी शिक्षक आन्दोलनका सन्दर्भमा शिक्षकहरुको गरिमाको सम्मान गर्न सरकारलाई र गरिमामय शिक्षण पेशाको मर्यादा कायम राख्न आन्दोलनरत पक्षलाई आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज शिघ्र सहमति खोज्न सम्बद्ध सबै पक्षलाई विनम्र आग्रह गर्दछ ।’

यद्यपी यस्तो सहमति खोज्दा संविधानको सीमाभित्रै रहेर खोजिनुपर्ने कुरामा मानव अधिकार तथा शान्ति समाजले जोड दिएको छ । त्यसै गरी शिक्षक आन्दोलनमाथि सरकारले कुनै प्रकारको दमन नगर्न र आन्दोलनरत पक्षले पनि अराजकतालाई बढावा दिने सम्भावना भएको कुनै पनि कार्य नगर्न समाजले दुवै पक्षलाई सुझाएको छ । वज्ञप्तीमा भनिएको छ, ‘आन्दोलनका नाममा पठन पाठन बन्द गर्ने कार्य तत्काल अन्त्य गरी ‘शिक्षाको अधिकार’ को सम्मान गर्न शान्ति समाज आन्दोलनरत पक्षलाई आग्रह गर्दछ । ’

त्यसै गरी राज्यका अन्य निकायको तुलनामा शिक्षकहरुले पाउने सेवा सुविधा सम्बन्धमा रहेको विभेद अन्त्य गर्न समेत सरकारलाई शान्ति समाज आग्रह गर्दछ ।’ जारी शिक्षक आन्दोलनका सन्दर्भमा सरकारले विश्वासको वातावरण सिर्जना गरिी विभिन्न जिल्लाबाट आन्दोलनमा सहभागि हुन काठमाण्डौ आउनुभएका आदरणीय शिक्षकहरुलाई यथाशिघ्र कार्यस्थलमा फर्की पठनपाठन सुचारु गर्ने वातावरण सिर्जना गर्न र शिक्षक आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले सरकारसँग घनिभुत तवरमा वार्ता गरि सहमतिमा पुग्न शान्ति समाजले अपिल गरेको छ । 

‘विद्यालय शान्ति क्षेत्र’ भनेर नेपालको समग्र नागरिक समाजले विगतमा सञ्चालन गरेको अभियान स्मरण गराउँदै शैक्षिक क्षेत्रलाई राजनीतिको छायाँबाट मुक्त राख्नका लागि आवश्यक पहल गर्न समेत शान्तिसमाजले सम्बद्ध सबैलाई विनम्र आग्रहसमेत गरेको छ ।