रुपन्देही, ४ असोज ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । सभापति देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार ८ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् ।
मनोनित हुनेमा रुपन्देहीका भरत कुमार शाह, गुल्मीका डा. चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई, बागलुङका किरणराज शर्मा पौडेल, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रुंगटा रहेका छन् ।
देउवाले मनोनित गरेका केन्द्रीय सदस्यमा शाह रुपन्देही क्षेत्र नम्बर ५ बाट गत निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए । त्यसअघि उनी सार्वजनिक लेखा समितिको सभापति थिए । शाह कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा पनि पराजित भएका थिए ।
डा. चन्द्र भण्डारी १४ औं महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए । त्यस्तै विश्वकर्माले सह–महामन्त्रीमा पराजित भएका थिए ।
त्यस्तै जोशी, हुमागाईं यसअघि पनि केन्द्रीय सदस्य थिए । किरणराज शर्मा पौडेल यसअघि आमन्त्रित केन्द्रीय सदस्य थिए ।