२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

संविधानले तोकेको अधिकार केन्द्रले प्रदेश र स्थानीय सरकारलाई दिन खोजेन : मुख्यमन्त्री चौधरी

बिहिवार , आश्विन ४, २०८०

दाङ, ४ असोज । 
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाएको छ । दाङस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको हो ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले निदृष्ट गरेका अधिकारहरु कार्यान्वनमा नआउँदा जटिलता आइरहेको बताए । उनले संविधानले तोकेको अधिकार केन्द्रले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन नखोजेको बताए । यसले गर्दा संघीयता कार्यान्वयनमा समस्या रहेको मुख्यमन्त्री चौधरीको तर्क छ । संविधानमा लेखिएका अधिकार कार्यान्वयन प्रमुख विषय रहेको उनले बताए । 

उनले संविधान कार्यान्वयन गर्न केन्द्र सरकारले बाधा पुर्याइरहेको दावी गर्दै अधिकार बाँडफाँट संविधान अनुसार हुनुपर्ने र त्यो शिघ्र कार्यान्वयनमा जानुपर्ने बताए । ‘म आज पनि भन्छु, संघीयता फेल भयो भने, हाम्रो कारणले हुँदैन, त्यो केन्द्र सरकारकै कारणले हुन्छ’ उनले भने,-‘अधिकार बाँडफाँटमा संकुचित हुनुभएन, जे–जे लेखिएको छ, त्यहीअनुसार काम गर्न पाउनुपर्छ ।’ संविधान पूर्ण कार्यान्वयनको लागि संघीयता कार्यान्वयन पूर्ण हुनुपर्ने र त्यो अधिकारमा जोडिएको उनले बताए । 

संविधानमा सबैको भावना समेटिएको भन्दै उनले भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने, सबैखाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको तर, यसको कार्यान्वयन सहज रुपमा हुन नसकेको तर्क गरे । उनले प्रदेश सरकारलाई अधिकार समपन्न गराउन केन्द्रसँग आग्रह समेत गरे । संविधान कार्यान्वयन गर्न सबै निकायहरू विचमा समन्वय र सहकार्य हुनुपर्ने बताए ।

संविधान कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । तर, प्रदेशले गरेको प्रतिबद्धता पूरा गर्न केन्द्रको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ छ । ‘संविधानमा भएका अधिकारहरू चाँडै प्रदेशले प्राप्त गरोस् । सम्माननीय प्रधानमन्त्रीज्युलाई मेरो आग्रह छ,

संविधानमा लेखिएका कुराहरू दिनलाई कहाँ कन्जुस्याँइ भएको छ’? उनले भने ‘अहिलेको संविधान यस्तो संविधान हो, हामीलाई गाली गर्न छुट छ । यो संविधान मान्दैनौँ भन्नेहरूलाई पनि यो संविधानले छुट दिएको छ ।’

अब विकासमा प्रतिष्पर्धा हुनु पर्छ, तब मात्रै संघीयताको महत्व बुझिन्छ । ‘सातवटा प्रदेशमध्ये कुन प्रदेश अगाडि भन्ने बारेमा प्रतिष्पर्धा हुनुपर्छ’ उनले भने, ‘जनतासँग नजिक हुनको लागि यो संविधानले महत्वपूर्ण योगदान दिएको छ । भाषा र ठाउँलाई कसरी अगाडि बढाउने भन्ने कुरा पनि महत्वपूर्ण छ ।’

381989859_159124077260404_7409557380913822761_n.jpg

झाँकीसहितको उत्सव

प्रदेश सरकारले संविधान दिवसलाई उत्सवको रुपमा मनाएको छ । विभिन्न जातजातीका कला संस्कृति प्रदर्शन गरेर दिवस मनाइएको छ । थारु, मगर, अवधी समुदायको कला संस्कृति प्रस्तुत गरिएको हो । महिलाहरुले पञ्चेबाजा बजाए भने, थारु महिलाहरुले झुमरा नाच प्रस्तुत गरेका छन् ।

अवधी कला संस्कृति अन्तरगत बाजा बजाएर नाच प्रस्तुत गरिएको छ । राप्ती गाउँपालिका र गढवा गाउँपालिकाबाट झाँकी प्रस्तुत गरिएको थियो । त्यस्तै स्काउट विद्यार्थीहरूले झाँकी प्रस्तुत गरेर दिवसलाई उत्सवमय बनाए ।