२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

वर्तमान संविधान कांग्रेसको नीतिबाट प्रभावित छ : कृष्णप्रसाद सिटौला

बुधवार , आश्विन ३, २०८०

काठमाडौं, ३ असोज । 
नेपाली कांग्रेसका नेता तथा वर्तमान संविधानको मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले वर्तमान संविधान माओवादी पार्टीबाट प्रभावित भएर निर्माण नभएको दावी गर्दै कांग्रेसबाटै माओवादी प्रभावित बनेको बताएका छन् ।

नेपाली कांग्रेसले विपी कोइरालाको स्मृतिमा आयोजना गरेको विपी साहित्य महोत्सवको अन्तिम दिन बुधबार पार्टी मुख्यालय विपी नगरमा आयोजित ‘विपीको विचार, आजको संविधान र अबको बाटो’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता सिटौलाले संविधानमा नेपाली किसान, मजदुर र आमसमुदायको भावनाको प्रतिनिधित्व बमोजिम अधिकारको प्रत्याभूति गरेको बताए।

उनले भने, ‘संविधान बनेपछि यसको कार्यान्वयनमा हामीले जोड दिन सकेनौं, संविधान जारी भएपछि कार्यान्वयन गर्ने बेलामा २०७२ सालपछि कम्युनिष्टहरुको सरकार बन्यो, केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले संविधान कार्यान्वयन गर्नभन्दा राज्य सत्ता कब्जा गर्ने नियत राखेको देखियो ।’

सिटौलाले संविधान कार्यान्वयनका लागि संघीय संसद र प्रदेश सभाका सांसदहरुको क्रियाशिलताको खाँचौ औंल्याउँदै संविधान जारी भएपछिका ८ वर्षको मुल्यांकन गर्दा राज्य संचालकहरुको प्राथमिकता संविधान कार्यान्वयन गर्नेतर्फ नहुँदा समस्या आएको बताए ।
उनले राज्य संचालन गर्नेहरुले संविधानलाई यथास्थितिमा राखेर सत्तामा ध्यान केन्द्रीत गरेको आरोप लगाए ।

‘नेपाली कांग्रेससँग अहिले पनि सदन र सडकमा संविधान कार्यान्वयन गर्न सक्ने ताकत छ । यसलाई दृढताका साथ कार्यान्वयन गर्न कांग्रेसका सांसदहरु लाग्नुस्, संविधान बनेपछि कानून बनाउन ढिलाइ गर्नु भनेको न्याय दिन ढिलाई गर्नु न्याय नदिनु जस्तै हो’, उनले भने, ‘संविधानमा आधारभूत विशेषताहरु बहुदलीय प्रजातन्त्रकै छ ।’

प्रतिनिधि सभाका पूर्वसभामुख दमन नाथ ढुंगानाले वर्तमान संविधानमा मौलिक हक नै ३१ वटा राखिएको भन्दै यति धेरै मौलिक हक राखेर कार्यान्वयन गर्न नसक्नु वर्तमान सत्तारुढ दलहरुकै कमजोरी भएको बताए । उनले भने, ‘यो संविधान माओवादीबाट डोमिनेटेड छ । नत्र उसलाई बारम्बार सत्ताको नेतृत्व गर्न किन दिनु पर्यो ?, यो संविधान फन्कसनेवल छैन् । यसले मुलुकलाई निकास दिँदैन । विपीले स्टालिनको पालाको रुसको संविधानलाई उत्तम भन्नु हुन्थ्यो ।’

संविधान सभा सदस्य तथा पूर्वमन्त्री निलाम्बर आचार्यले संविधान जारी भएको तीन वर्षभित्रमा बन्नुपर्ने कानूनहरु निर्माण नहुनु दुखद भएको बताए । उनले भने, ‘विपीले भने जस्तै प्रजातन्त्र बलियो बनाउन आर्थिक समुन्नति चाहिन्छ र अहिले युवा पलायन वर्तमान राजनीतिक नेतृत्वप्रतिको आक्रोशको संकेत हो । जनताको मागलाई सम्वोधन गर्न विमुख भएर दलहरु सत्ता केन्द्रीत हुँदा समस्या आएको छ ।’

पहिलो संविधान सभाका मस्यौदा समितिको संयोजक समेत रहेका आचार्यले नेपाली कांग्रेस, एमाले, माओवादी र तत्कालिन राजा ज्ञानेन्द्रको माघ १९को ‘कु’ ले नेपालमा गणतन्त्र आउन सम्भव भएको बताए । उनले भने, ‘संविधान मास्ने कुरा गर्नुहुन्न । संविधानको विकास वा संशोधन गर्नुपर्छ । संविधान असफल भयो भने अराजकता आउन सक्छ ।’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरु संविधान सभामा चुप लागेर नबसेको भन्दै माओबादीले नमानेको बहुलवादलाई मान्न बाध्य बनाएको र अनेकौं एजेण्डामा अडान लिएको प्रष्ट पारे । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संचालन गरेको सो अन्तरसंवादमा सहभागीहरुले विभिन्न प्रश्नहरुको जवाफ सिटौला, ढुंगाना र आचार्यले दिएका थिए ।