
बुधवार , आश्विन ३, २०८०
काठमाडौं, ३ असोज ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा परिवारका अन्य सदस्यहरुले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय विपीनगरमा आयोजित बिपी साहित्य महोत्सवको तेस्रो दिनको कार्यक्रममा ‘परिवारले बुझेको विपी’ विषयक अन्तरसंवाद कार्यक्रममा विपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक भएको जनाउँदै कोइराला परिवारका सदस्यहरु एकै ठाउँमा उभिने परिस्थिति नआएसम्म कार्यकर्ताहरुले दुःख पाइरहने दावी गरे ।
उनले पार्टीको नेतृत्व लिने कुरा सबै परिवारकै सदस्यमा मात्र भर नपर्ने भन्दै देशभरका कार्यकर्ताको भावना र सुझाव बमोजिम नै आफूले पार्टीको १४ औं महाधिवेशनमा प्रतिष्पर्धा गरेर सम्मान पाएको बताए । उनले भने, ‘मैले पाउने सम्मान पाएकै छु तर महाधिवेशनमा तपाइँहरुले साथ दिएको भए, यस्तो हालत हुँदैनन्थ्यो । पार्टी मिलाउने कुरा परिवारका सदस्य मिलाए जस्तो सजिलो हुन्न रहेछ ।’
नेता कोइरालाले आफूहरु कोइराला परिवारका सदस्यहरुलाई सधै साथमा लिएर हिँड्न चाहेको भन्दै आगामी दिनमा मिलेरै जाने भनेर डा. शशांक र सुजाता कोइरालाले भनेको कुरामा आफू विश्वस्त भएको बताए ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा विपी पुत्र डा. शशांक कोइरालाले पार्टीका कार्यकर्ताहरुको सुझाव बमोजिम आफू चल्ने गरेको भन्दै १४ औं महाधिवेशनमै आफू सभापतिमा उम्मेदवार बन्न खोजेको जनाए । आफू १५ औं महाधिवेशनमा समेत सभापतिको आकांक्षी रहेको बताए ।‘विपीले भन्नुहुन्थ्यो, यो प्रधानमन्त्री पद भनेको त फाटेको जुत्ता जस्तै हो, जो यो पदमा आउँछ र बस्छ । विपी सफल हुनुका कारण जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुहुन्थ्यो । विपीपछि सफल प्रधानमन्त्री भनेको गिरिजाप्रसाद कोइराला नै हो । सात हजार किमी बाटो थियो, अहिले १ लाख किलो मिटर भयो । हात हातमा मोबाईल आयो, यो सबै गिरिजाप्रसाद कोइरालाको देन हो ।’
उनले कोइराला परिवारका सदस्यहरुको स्मरण शक्ति निकै राम्रो भएको दावी गर्दै विपी कोइरालाले कार्यकर्ताहरुलाई धेरै माया गर्नुहुन्थ्यो । आजकलका नेताहरु कार्यकर्ताको दुःख नबुझ्ने गरेको बताए । आफू राजनीतिमा लागेसँगै २०६४ सालमा नवलपरासीबाट निर्वाचन लडेको प्रसंगमा डा. शशांकले भने ‘मैले ४ पटक जितेँ, मन्त्री भएको छैन । केही गरेको छैन । तर जितेँ । महिलाहरुलाई मैले प्राथमिकता दिन्छु। म्हिलाकै कारण जितेँ । म कसैलाई चिन्दिन थिएँ, पाँचवटा गाविसको नाम कण्ठ गरेर गएँ ।’ उनले कांग्रेसका लागि आफूहरु एकै ठाउँमा उभिनुपर्नेमा जोड दिए ।
डा. शशांक कोइरालाले परिवार मिलाउन नसक्ने मान्छेले यत्रो पार्टी र सरकार कसरी मिलाउन सक्छ ? भनेर विपीले आफूहरुलाई भन्ने गरेको घटना स्मरण गरे ।
पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेतृ सुजाता कोइरालाले नेपाली कांग्रेसका केही जिल्लाका कार्यकर्ताहरु दलितसँग सँगै बसेर खाना नखाएको घटनाबाट आफू दुखित भएको बताइन् । उनले आफ्नो परिवारमा त्यस्तो विभेद कहिल्यै गर्ने नगरेको भन्दै कार्यकर्तालाई केन्द्रबिन्दुमा राखेर काम गर्न पार्टीका युवा महामन्त्रीहरुसँग आह्वान गरिन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij