२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

संविधान दिवसको अवसरमा राष्ट्रिय युवा संघ रोहिणीद्वारा दीप प्रज्जवलन

बुधवार , आश्विन ३, २०८०

भैरहवा, ३ असोज ।
संविधान दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल रोहिणी गाउँपालिका कमिटी, रुपन्देहीले दीप प्रज्जवलन कार्यक्रम गरेको छ । संघले बुधबार रोहिणी गाउँपालिका–३ स्थित धकधईमा उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य संजय कुमार गुप्ताले २०७२ सालको संविधान विश्वको उदाहरणीय संविधान भएको बताए । उनले संविधानमा केही त्रुटी रहेको र त्यसलाई समयसापेक्ष परिमार्जित गर्नुपर्ने बताए । उनले भने, ‘यो संविधान अरु संविधान भन्दा फरक छ । जनताबाट निर्वाचित जनप्रतिनिधिमार्फत संविधानसभाबाट बनेको संविधान हो । बहुसंख्यक जनताको मर्मलाई यसले समेटेको छ ।’

एमाले उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेवाङको अथक प्रयासले २०७२ सालको संविधान जारी भएको उनको भनाइ छ । नेता गुप्ताले कुनै एक व्यक्ति र एक पार्टीको भन्दा पनि संविधान निर्माणमा अधिकांश नागरिकको योगदान रहेको बताए ।

त्यस्तै एमाले रुपन्देही जिल्ला कमिटी सदस्य प्रदीप पाण्डेयले गर्वको साथ जनताद्वारा निर्माण गरिएको संविधान दिवस मनाइएको बताए । उनले संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए । 

राष्ट्रिय युवा संघ रोहिणी गाउँपालिका कमिटीका अध्यक्ष शेराज खानको अध्यक्षता तथा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य संजय कुमार गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमाले जिल्ला सदस्य प्रदीप पाण्डेय, गणेश यादव, मीना पाण्डे, भण्डारी गुप्ता, उसमान दर्जी, शम्भु चौधरी, राम मिलन यादव, इमरान खान, वृजेश यादव, नेत्रमणि पाण्डे, संजय उपाध्याय अनिल गुप्ता, राधेश्याम धवललगायतको उपस्थिति रहेको थियो ।