
बुधवार , आश्विन ३, २०८०
भैरहवा, ३ असोज ।
२०७२ सालमा संविधान सभाबाट जारी भएको संविधान संशोधनको माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) रुपन्देहीले ‘कालो दिन’ मनाएको छ । लोसपा जिल्ला कार्यसमिति, रुपन्देहीले बुधबार भैरहवामा विरोध प्रदर्शन तथा कोणसभा गर्दै ‘कालो दिन’ मनाएको हो ।
भैरहवास्थित मिलनचोकमा आयोजित कोणसभामा बोल्दै लोसपाका युवा नेता तथा लुम्बिनी प्रदेश संसदीय दलका उपनेता कन्हैया बनियाले संविधान दिवसको दिन ब्लयाक डे मनाउनुपर्ने दुर्भाग्यपूर्ण अवस्था रहेको बताए । उनले भने, ‘संविधान जारी भएकै दिन हामी आन्दोलनमा थियौं । संविधानमा भएका त्रुटीपूर्ण प्रावधानहरु सच्याएर संविधान संशोधन नभएसम्म हाम्रो विरोध जारी रहन्छ ।’ मधेशी, मुस्लिम, जनजाति, दलित, महिला लगायत उत्पीडित समुदायको अधिकार संविधानले समेट्न नसकेको उनको भनाइ छ ।
त्यस्तै लोसपा लुम्बिनी प्रदेश संसदीय दलकी प्रमुख सचेतक हेमा बेल्बासे के.सी.ले संविधान बनाएर मात्र नहुने भएकाले त्यसको कार्यान्यवन आवश्यक रहेको बताइन् । उनले आफूहरु संविधान विरोध नभएको तर संविधानमा रहेका त्रुटीपूर्ण प्रावधानहरु संशोधन नगरेसम्म प्रत्येक वर्ष विरोध गरिरहने बताइन् । उनले भनिन्, ‘संविधान संशोधन नभएसम्म विरोधका कार्यक्रम जारी राख्छौं । सदन र सडक दुवैबाट विरोध गर्छौं । ’
कार्यक्रममा लोसपा लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य सन्दिप त्रिपाठी, युवा नेता महेन्द्र गुप्ता (प्रशान्त), रुपन्देही जिल्ला अध्यक्ष अजय वर्मा लगायतले बोल्दै संविधान संशोधन नभएसम्म असोज ३ लाई कालो दिनकै रुपमा मनाउने बताए । नेताहरुले सबैको अधिकार सुनिश्चित हुनुपर्छ भन्ने माग राख्दै मधेश आन्दोलन भएको र त्यो आन्दोलनमा धेरै नागरिकले ज्यान गुमाएको बताए ।
लोसपा लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद अलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij