
बुधवार , आश्विन ३, २०८०
भैरहवा, ३ असोज ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले संविधान कार्यान्वयनमा जोड दिएका छन् । रुपन्देहीको सियारी गाउँपालिकामा संविधान दिवस तथा चौथो सियारी शिक्षा दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री पाण्डेयले संविधानलाई सबैको साझा दस्तावेजको रुपमा स्वीकार गर्नका लागि आवश्यकता र समयको मागअनुसार संविधान संशोधन गर्दै संविधान कार्यान्वयनमा जोड दिएका हुन् ।
मन्त्री पाण्डेयले प्राविधिक शिक्षामा पनि जोड दिएका छन् । उनले प्राविधिक र युग सुहाउँदो शिक्षाको अभावमा अहिले पनि माग बमोजिमको दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गरे । उनले भने, ‘मलाई थुप्रैले जागिर लगाउन भन्नुहुन्छ तर बिडम्बना, जागिर पाइएको ठाउँमा दक्ष व्यक्ति नपाउँदा अहिले पनि समस्या झेलिरहेका छौं ।’
मन्त्री पाण्डेयले सियारी गाउँपालिका पर्यटकीय गाउँपालिकाको रुपमा परिचित हुँदै गएको उल्लेख गर्दै पर्यटकलाई ‘अतिथि देवो भव’ को रुपमा सम्मान र सत्कार गर्नुपर्नेमा जोड दिए । उनले पर्यटकका लागि सडक पूर्वाधार पनि महत्वपूर्ण आधार रहेको हुदाँ बेथरीदेखि छपियासम्मको सडकको स्तरोन्नति गर्नका लागि बजेटको प्रबन्ध मिलाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले प्राविधिक शिक्षा र पूर्वाधार बिकासमा जोड दिनुपर्नेमा जोड दिए ।
सो अवसरमा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शिक्षा प्रणालीमा सुधार गर्दै कक्षा १२ उत्तीर्ण गरेपछि विदेश पलायन हुने युवाहरुलाई रोक्नुपर्नेमा जोड दिए । उनले नेपाली युवाहरु सानातिना काम गर्न परे नेपालमा किन काम गर्ने, विदेश गरेर गर्ने भन्ने सोचका कारण युवाहरु विदेश पलायन हुने क्रम बढेकाले यसलाई चिर्न जरुरी रहेको बताए । उनले नेपालमै पाइने दक्षता अनुसारको काम गर्न युवाहरुलाई आग्रह गरे ।
सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुको स्वागतमा सम्पन्न कार्यक्रममा बोल्दै सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले सियारीलाई समुन्नत र सबैको साझा पालिकाको रुपमा विकास गर्दै जाने उल्लेख गरे । उनले सियारीलाई शिक्षा, उद्यम, राजनीतिक तथा सामाजिक क्षेत्रका माध्ययमबाट चिनाउने अग्रज व्यक्तिहरुलाई सम्मान गर्न पाउँदा खुसी भएको उल्लेख गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij