२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

संविधान र संघीयता कार्यान्वयनमा जिम्मेवार बनौं : लुम्बिनी प्रदेश सभामुख

बुधवार , आश्विन ३, २०८०

रुपन्देही, ३ असोज ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संविधान र संघीयता कार्यान्वयनमा राज्य संरचनाका तीनै तह गम्भिर र जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

संविधान दिवस–२०८० को अवसरमा बुधवार शुभकामना सन्देश जारी गर्दै सभामुख घर्ती मगरले संविधान कार्यान्वयनमा देखिएको कमीकमजोरी सच्याएर आगामी दिनमा हुने थप अभ्यासबाट संविधान समृद्ध हुँदै जाने विश्वास व्यक्त गरे । उनले संविधान कार्यान्वयनको क्रममा भएका कमीकमजोरी सम्बन्धी खबरदारीको रुपमा आएका जनताको सकारात्मक सुझावहरुले संविधान र संघीयतालाई थप परिस्कृत बनाउने बताए ।

नेपाली जनताको दशकौं लामो अनवरत संघर्षको परिणामका रुपमा मुलुकले नयाँ संविधान पाएको र नयाँ संविधानसहित संघीय लोकतान्त्रीक गणतन्त्रात्मक व्यवस्थाको पनि अभ्यास भइरहेको जनाउनुहुदै सभामुख घर्ती मगरले संविधानको मर्म अनुरुप प्रदेश र स्थानीय तहले आफ्नो जिम्मेवारी पुरा गरिरहेको बताए । उनले लुम्बिनी प्रदेश सभा संविधानको मर्म र भावनालाई आत्मसाथ गर्दै जनचाहना अनुसार ऐन कानून निर्माण गरिरहेको पनि बताए ।

उनले संविधानले सम्पूर्ण नेपालीहरुको भावनाको प्रतिनिधित्व गरेको र सामाजिक न्यायसहितको लोकतान्त्रिक मूल्य मान्यता समेटिएकाले यो संविधान अहिले सम्मकै उत्कृष्ट र जनमैत्री संविधान भएको दावी गरे । उनले संघीयता कार्यान्वयनको प्रमुख कडीको रुपमा रहेको यो संविधान नेपाली जनताको भविष्य निर्धारक पनि भएको शुभकामना सन्देशमा उललेख गरेका छन् ।

‘जनताका प्रतिनिधिहरुले संविधान सभामार्फत् संविधान निर्माण गरी जारी भएको ८ वर्ष पूरा भएको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा–बुवा दिदी–बहिनी एवं दाजु–भाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाली जनताको संविधान निर्माण र कार्यान्वयनको ७६ वर्ष (२००४–२०८०)को इतिहासमा यो दिन निकै महत्वपूर्ण दिन हो ।

संविधान जारी गरिएको यो विशेष दिनमा जनयुद्ध, जनआन्दोलन एवं विभिन्न कालखण्डमा भएका क्रान्ति, आन्दोलन र संघर्षमा जीवन अर्पण गर्नुहुने महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु साथै घाइते, अपाङ्ग एवं वेपत्ता योद्धाहरुलाई उच्च सम्मान व्यक्त गर्दछु । संविधान निर्माण प्रक्रियामा योगदान गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । ’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।