
आइतवार , भाद्र ३१, २०८०
भैरहवा, ३१ भदौ ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले आइतबार बेलुकी दाङमा भएको सवारी दुर्घटनाका घाइतेलाई आफूले चढिरहेको सरकारी गाडीमा राखेर अस्पताल पुर्याएका छन् ।
देउखुरीस्थित मन्त्रालयबाट गृह जिल्ला रुपन्देही फर्कने क्रममा दाङको कालाकाटेस्थित राजमार्गमा रा १ झ २१९ नम्बरको एम्बुलेन्स र बा २९ प ३०४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।
गृहमन्त्री पाण्डेय तत्काल आफ्नो गाडीबाट झरे र घाइतेलाई आफ्नो गाडीमा राखेर अस्पताल पुर्याए ।
अस्पतालसम्म पुर्याउने सवारीसाधन तत्काल नपाइएपछि मन्त्रीले घाइतेलाई आफूले चढिरहेको गाडीमा पुर्याएका हुन् ।
मन्त्री पाण्डेयको सचिवालयमा कार्यरत जैनुद्दीन देवानका अनुसार मन्त्रीले घाइतेलाई गाडीमा राखेर भालुवाङस्थित अस्पतालमा लगेर भर्ना गराएका थिए ।
‘हामी गाडीमा आइरहेका थियौं, अगाडि दुर्घटना भएको देखियो, मन्त्रीज्यूले तत्काल आफ्नो गाडी रोकेर घटना हेर्नुभयो अनि त्यही गाडीमै अस्पताल लगेर उपचारको प्रबन्ध गरेर बल्ल फर्किएका हौं’ देवानले भने,‘अस्पताल पुगेपछि एकछिन बिरामीको अवस्था सामान्य बनेको देखियो र हामी भैरहवा फर्केका हौं ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij