बिहिवार , भाद्र २८, २०८०
काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । नेम्वाङलाई छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका थिए । त्यसअघि पशुपति आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरुले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए । प्रधानमन्त्री प्रचण्डले पशुपति आर्यघाटमा राष्ट्रिय झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।
यसैगरी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतसहित विशिष्ट व्यक्तिहरुले नेम्वाङलाई श्रद्धाञ्जलि व्यक्त गरे ।
राजकीय सम्मानका साथ अन्त्येष्टिका लागि नेम्वाङको निवास बालुवाटारबाट शवयात्रा आर्यघाट पुराइएको थियो । भदौ २६ गते हृदयाघातका कारण नेम्वाङको निधन भएको थियो । नेम्वाङको अन्त्येष्टि हुने दिन बिहीबार सरकारले सार्वजनिक बिदा दिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij