२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

संविधानमा उल्लेख समाजवादको मर्मअनुसार अभ्यास गर्न पाएका छैनौं : सभापति देउवा

आइतवार , भाद्र २४, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संविधानमा उल्लेख समाजवादको मर्मअनुसार अभ्यास गर्न नपाएको बताएका छन् ।

    आइतबार पार्टी कार्यालय सानेपामा पार्टीले आयोजना गरेको तीन दिने ‘बिपी साहित्य महोत्सव’को उद्घाटन गर्दै सभापति देउवाले नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेको भए पनि यसको मर्मअनुसार अभ्यास गर्न नपाएको बताएका हुन् ।

    उनले समयको अन्तरालसँगै मुलुक पनि बिपीले देखाएको प्रणालीमा अघि बढेको तर विभिन्न कारणले स्थायित्व नपाएको जिकिर गरे । कांग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आर्दश कायम गरेर अघि बढेको उनले बताए ।

    विपीकै चिन्तनले मुलुक समृद्ध बनाउन सकिने र प्रयत्न भइरहेको भन्दै उनले नेपालका सबै राजनैतिक दलहरुले कुनै न कुनै दृष्टिकोणले अहिले पनि बिपी बिचारको अनुकरण गर्दै आएको बताए ।

    सभापति देउवाले राज्यको सिमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीसँग मित्रवत ढङ्गले स्वाभिमानका साथ आफ्नो मुलुकका पक्षमा बोल्नु र निर्णय गराउनु बिपीको स्वभाव रहेको जिकिर गरे ।

    बिपी कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना एवं नेपाली लेखक सङ्घको संयोजनमा सुरु महोत्सव भाद्र २६ गतेसम्म चल्ने कांग्रेसले जनाएको छ । कांग्रेसले जननायक बिपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष बिपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ ।