
आइतवार , भाद्र २४, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।
आइतबार सिंहदरबारमा आफ्नो आसन्न चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेताहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू लगायतसंग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा जोड दिँदै त्यसका लागि आवश्यक गृहकार्य गरिएको बताएका हुन् । भ्रमणका बिषयमा आएका सुझावहरुले आफ्नो भ्रमण प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ छ । सरकारले दुबै छिमेकीका साथै विश्व समुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्टाउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताए ।
त्यस्तै उनले कुटनीतिक तहमा राम्रो छलफल गरेर नै संयुक्त राष्ट्रसंघको महासभाबाट सिधै चीन भ्रमणमा जाने कार्यतालिका निर्धारण गरिएको भन्दै भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध र दुईदेशीय हितका विषयमा केन्द्रित रहेर छलफल हुने बताएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।
छलफलपछि एमाले नेता प्रदीप ज्ञवालीले सन्तुलित छिमेक सम्बन्धमा चीनको आशंकालाई दुर गर्न प्रधानमन्त्रीको भ्रमण सफल हुनुपर्ने बताए । छिमेकीहरूसँग सन्तुलित कुटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने, विगतका सम्झौताहरू कार्यान्वयनको अवस्थाबारे समीक्षा जरुरी रहेको उनले बताए ।
त्यस्तै पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालको असंलग्न परराष्ट्र नीतिबारे छिमेकीलाई विश्वासमा लिनुपर्ने, नेपालले लाभ लिन सकिने विषयहरूमा राम्रो गृहकार्य गरेर भ्रमणमा जानुपर्ने बताए ।
छलफलमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, परराष्ट्रमन्त्री एन.पी. साउद, नेताहरू महन्त ठाकुर, सिके राउत, चित्रबहादुर केसी, प्रेम सुवाल, पूर्वपरराष्ट्रमन्त्री लगाएत सहभागी थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij