२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

सम्पूर्ण नागरिकको अधिकार सुनिश्चित गराउन राष्ट्रिय जनमुक्ति पार्टीको विकल्प नभएको दावी

बुधवार , भाद्र २०, २०८०

भैरहवा, २० भदौ ।
सम्पूर्ण नागरिकको अधिकार सुनिश्चित गराउन राष्ट्रिय जनमुक्ति पार्टीको विकल्प नभएको उक्त पार्टीका नेताहरुले दावी गरेका छन् । उनीहरुले राष्ट्रिय जनमुक्ति पार्टीले सम्पूर्ण नागरिकको विषयमा आवाज उठाउँदै आएकाले यो पार्टीको विकल्प नरहेको दावी गरेका हुन् ।

राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही क्षेत्र नम्बर ३ को आयोजनामा मंगलबार भैरहवामा भएको तीज मिलन कार्यक्रममा बोल्ने नेताहरुले राज्यलाई बारम्बार सम्पूर्ण समुदायको अधिकारबारे सचेत गराउँदै आएको बताए ।

कार्यक्रममा बोल्दै पार्टीका संघीय परिषद् उपाध्यक्ष तथा राष्ट्रिय महिला मोर्चा केन्द्रीय अध्यक्ष होमाया गुरुङले राष्ट्रिय जनमुक्ति पार्टी सम्पूर्ण जातजाति, धर्म, समुदायको सम्मान गर्ने पार्टी भएको बताइन् । उनले स्थापनाकालदेखि पार्टीले पहिचानसहितको संघीयता, भ्रष्टाचारको अन्त्य लगायत माग राख्दै आएको बताइन् । उनले भनिन्, ‘तीज विशेष पर्व हो । यसको विशेष महत्व छ । सम्पूर्ण चाडपर्वको आफ्नै महत्व छ ।’

त्यस्तै पार्टीको संघीय परिषद् सचिव गीता सारुले प्रत्येक चाडपर्व र धर्मको सम्मान गर्नुपर्ने बताइन् । उनले सबैलाई समान अधिकार दिनुपर्छ भनेर पार्टीले आवाज उठाउँदै आएको जिकिर गरिन् । उनले भनिन्, ‘राष्ट्रिय जनमुक्ति पार्टीले सबैलाई समेटेको छ ।’

राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद् सचिव तथा युवा नेता मोजीब अलीले राज्यका निकायमा हरेक समुदायको प्रतिनिधित्व हुनुपर्छ भनेर पार्टीले संघर्ष गर्दै आएको बताए । उनले भने, ‘महिलालाई प्रशासनिक निकाय÷कार्यकारी पदमा अधिकार दिनुपर्छ । महिला कमजोर छैनन् । मुलुकको विकासमा महिलाको भूमिका महत्वपूर्ण छ । महिलालाई घरमा मात्र सीमित गर्नुहुँदैन । ’ युवा नेता अलीले स्थापनाकालदेखि पार्टीले संघीयता, समावेशीता र धर्म निरपेक्षताको एजेण्डा अगाडि सार्दै आएको भन्दै त्यसकै फलस्वरूप अहिले सभामुख उपसभामुख, पालिका प्रमुख, उपप्रमुख लगायत राज्यका महत्वपूर्ण निकायमा महिलाको प्रतिनिधित्व सुनिश्चित भएको बताए ।

राष्ट्रिय महिला मोर्चा लुम्बिनी प्रदेश अध्यक्ष धनिसरा दर्लामीले महिलाको अधिकार सुनिश्चित गर्न एकजुट भइ अघि बढ्नुपर्नेमा जोड दिइन् । 

मोर्चाकी रुपन्देही जिल्ला अध्यक्ष ज्योति थापाले महिलाको अधिकार सुनिश्चित गर्न अब टोलटोलबाट निस्कनुपर्ने बताइन् । 

पार्टीका तिलोत्तमा नगरपालिका अध्यक्ष भोम बहादुर बुढाले राष्ट्रिय जनमुक्ति पार्टी नै सम्पूर्ण जनताको रक्षा गर्ने पार्टी भएकाले यो पार्टीको विकल्प नरहेको बताए । उनले सबैले समान अधिकार पाउनुपर्छ भन्ने विचार पार्टीले बोकेको दावी गरे ।

IMG_7173.JPG

राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही क्षेत्र नम्बर ३ का अध्यक्ष हरि दर्लामीको अध्यक्षता, पार्टीको संघीय परिषद् उपाध्यक्ष होमाया गुरुङको प्रमुख आतिथ्यता, क्षेत्रीय कोषाध्यक्ष एवं कार्यक्रम संयोजक माया सारुको स्वागत तथा क्षेत्रीय सचिव राधा गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।