
बुधवार , भाद्र २०, २०८०
रुपन्देही, २० भदौ ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कंडेल विजयी भएका छन् । मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मतले पराजित गर्दै कंडेल विजयी भएका हुन् ।
विजयी कंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका छन् । पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । ५ पदाधिकारीमध्ये ४ पदमा निर्वाचन भएको थियो ।
भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी ४ जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो । त्यसै गरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी भएका छन् । उनीसँगै रुपन्देहीका विश्वराज बराल (अनुप) ले ३०६, बाँकेका पुजन विश्वकर्माले ९८, रुकुमका शान्तकुमार वलीले ५६ मत ल्याएका छन् । उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित भएका छन् । उनीसँग दुर्गाप्रसाद थारू चौधरीले ३९३, उपेन्द्रलाल कामीले ११० मत ल्याएका छन् ।
त्यस्तै महिला उपसचिवमा लिला रानामगर ३५२ मत ल्याएर विजयी भएकी छन् । उनीसँग बसन्ती अधिकारीले ३५१ र आरती पौडेलले २२१ मत ल्याएका थिए ।
त्यसै गरी लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । उनले प्रतिष्पर्धी विष्णुराज बीसीलाई २०७ मत अन्तरले पराजित गरेका हुन् । मंगलबार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।पदाधिकारीमा निर्वाचित उपसचिव पूर्णबहादुर बूढाबाहेक सबै कंडेल समूहका हुन् ।
विजयी उम्मेदवारहरुलाई बुधबार बिहान ९ बजे नै शपथग्रहणको कार्यक्रम राखिएको निर्वाचन मण्डलका सचिव तथा पार्टी पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य थापाले जानकारी दिए ।
अध्यक्षमा निर्वाचित कंडेलका पाल्पाका हुन् भने पराजित रिजाल प्युठानका हुन् । कंडेल संविधानसभा सदस्य तथा एमाले लुम्बिनी प्रदेश तदर्थ समितिका अध्यक्ष हुन् । त्यस्तै रिजाल लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा एमाले केन्द्रीय सदस्य हुन् । एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन रुपन्देहीको बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij