
मंगलवार , भाद्र १९, २०८०
रूपन्देही, १९ भदौ ।
नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान सकिएको छ । कुल १ हजार ५ जना मतदाता रहेकोमा ९६५ अर्थात ९६ प्रतिशत मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।
मंगलबार बिहान ८ः४५ बजे सुरू भएको मतदान दिउँसो २ः३० बजे सकिएको हो । मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले केहीबेरमा गणना सुरू हुनेछ भने आजै रातिसम्म मतपरिणाम सार्वजनिक गर्ने तयारी छ ।
आगामी नेतृत्वका लागि अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल र प्युठानका हरिप्रसाद रिजाल प्रतिष्पर्धामा छन् ।
कंडेल पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् । कंडेल एमालेको लुम्बिनी प्रदेशको तदर्थ समितिका निवर्तमान अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् ।
लुम्बिनी प्रदेशमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ । पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ । यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको छ ।
उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल (अनुप) र बाँकेका पुजन विश्वकर्मा प्रतिष्पर्धामा छन् । उपसचिव खुलामा ४ र महिलामा ३ जना प्रतिष्पर्धामा छन् ।
रुकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद थारू चौधरी, रोल्पाका पूर्ण बुढामगर उपसचिवमा चुनाव लडेका छन् ।
त्यस्तै उपसचिव (महिला) मा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बाँकेकै लीला रानामगरको उम्मेदवारी रहेको छ ।
त्यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे, गुणनिधि भुसाल र विष्णुराज बीसी गरी ३ जनाबीच प्रतिष्पर्धा छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij