
मंगलवार , भाद्र १९, २०८०
बुटवल, १९ भदौ ।
नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । भदौ १६ गतेदेखि रुपन्देहीको बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशन अन्तरगत अध्यक्ष पदका लागि निवर्तमान प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजालबीच प्रतिष्पर्धा हुन लागेको हो । पाल्पाका कंडेल संविधान सभा सदस्य हुन् । त्यस्तै प्युठानका रिजाल लुम्बिनी प्रदेशका पूर्वमन्त्री हुन् ।
मंगलबार बिहान ८ः४५ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म हुने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बताए । कंडेल पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकट हुन् ।
लुम्बिनी प्रदेशमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा रुपन्देहीका भोज प्रसाद श्रेष्ठ, विश्वराज बराल (अनुप) र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ ।
सचिवमा दाङका लक्ष्मण आचार्य भने निर्विरोध भएका छन् । उपसचिव (खुला) मा ४ र महिलामा ३ जनाको उम्मेदवारी छ । उपेन्द्रलाल कामी (रुकुम पूर्व) दुर्गाप्रसाद थारू चौधरी (बाँके) पूर्ण बुढामगर (रोल्पा) र हिरा एसी (गुल्मी) ले उपसचिव पदमा उम्मेदवारी दिएका छन् ।
त्यस्तै उपसचिव (महिला) मा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बाँकेकी लीला रानामगरको उम्मेदवारी रहेको छ । नेतृत्वका लागि १ हजार ५ जना प्रतिनिधिले मतदान गर्दैछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij