
मंगलवार , भाद्र १९, २०८०
रुपन्देही, १९ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले समाजमा भ्रष्टाचार गर्नेहरूको रवाफ सकिएको बताएका छन् । माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारीलाई जेल पठाएर दुर्गन्धित भएको नेपाली राजनीतिमा सफाई गरेको जिकिर गदै अध्यक्ष बरालले सबै दलभित्रका भ्रष्टहरूको निद्रा खलबलिएको दावी गरे ।
सोमबार पार्टीले सुरुवात गरेको विशेष रुपान्तरण अभियानको कार्यक्रमलाई रुपन्देहीको देवदहमा सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्रीसमेत रहेका नेता बरालले भने, ‘वर्तमान सरकारको एक्सनले नेपाली राजनीतिमा शुद्धीकरण हुने देखिएको छ । अब समाज शुद्धीकरण गर्न जरुरी छ ।’
पार्टीको विशेष रुपान्तरण अभियानले समाजलाई शुद्धीकरण गर्ने र त्यसको सुरुवात माओवादी नेता–कार्यकर्ताबाट गर्नुपर्ने उल्लेख गर्दै नेता बरालले माओवादी नेता कार्यकर्ता पनि अरु जस्तै भ्रष्ट हुने हो भने उनीहरू समाज विकास र समाजवादी आन्दोलनका पहिला शत्रु ठहरिने र प्रहार त्यहींबाट सुरु हुने दावी गरे ।
भ्रष्टाचार गरेर कमाएको पैसाले चन्दा दिने, सामाजिक काम गरेजस्तो देखाउने र निर्वाचनमा पैसा बाँडेर चुनाव जिते पनि भ्रष्टाचारी ढिलोचाँडो जेल जान्छन् भन्नेमा अहिले नेपाली जनतामा विश्वास पलाएको धारणा राख्दै उनले ठूला भनिने पार्टीका ठुला नेताहरू नै अहिले जेलको सिढीमा रहेकोले केही माओवादी नेताहरूको समेत निद्रा खलबलिएको हुन सक्ने बताए ।
सोही कार्यक्रममा बोल्दै पार्टी रुपन्देही जिल्ला संयोजक नारायण जिसी (निर्मल) ले रुपान्तरण अभियान नेपाली राजनीतिको दोस्रो क्रान्ति हुने दावी गरे । विशेष रुपान्तरण अभियान माओवादी नेता सुध्रिने अभियान समेत भएको जिकिर गर्दै संयोजक जिसीले विगतका कमजोरी सुधार गरेर अघि बढ्नुको विकल्प नरहेको बताए ।
‘विगतमा हामी कहीं न कहीं बिग्रिएका थियौं, जनताबाट कुनै न कुनै रूपमा हामी काटेका थियौं र हाम्रो जनमत कमजोर भएको हो भन्ने स्वीकार गरौं । ’ उनले भने, ‘हामीमाथि प्रतिगामी र प्रतिक्रियावादीहरूले षड्यन्त्र गर्छन, हाम्रो बाटोमा उनीहरूले अनेक व्यवधान खडा गर्छन तर हामीले ती जालझेल र षडयन्त्रमा नफसी अगाडि बढ्ने हिम्मत गरेनौं भने हामी निरन्तर कमजोर हुँदै जान्छौं । अहिले भएको यही हो । ’
माक्र्सवादीहरूले आन्तरिक पक्षलाई प्रधान र बाह्य पक्षलाई गौण मान्ने हुनाले पनि माओवादीहरूले अरुलाई दोष लगायर नभइ आफुलाई रुपान्तरण गरेर क्रान्तिको बाटोमा अघि बढ्नुपर्ने उनको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij