२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

सरकारले भ्रष्टाचार अभियान चलाइरहेको छ : केपी ओली

शनिवार , भाद्र १६, २०८०

बुटवल, १६ भदौ । 
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार विरोधी नभएर भ्रष्टाचार अभियान चलाइरहेको आरोप लगाएका छन् ।

एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई शनिबार रुपन्देहीको बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारका लागि मात्रै एमाले केन्द्रित नभएको बताउँदै उनले माओवादी नेतृत्वको सरकार भ्रष्टाचार अभियान चलाइरहेको आरोप लगाए । एमालेले मुलुकबाट गरिबी उन्मुलन गर्दै समृद्ध नेपाली बनाउने अभियान लिएर हिँडेको भन्दै चुनावदेखि चुनाव र सरकारमात्रै नताक्ने उनले बताए । ‘एमाले जतिबेला सरकारमा जान्छ, जनताका पक्षमा काम गर्छ,’ उनले भने ।

२०५१ सालको सरकारदेखि एमालेले नेतृत्वको पछिल्लो सरकारले देश विकासमा महत्वपूर्ण कार्य गरेको भन्दै उनले त्यस्ता सरकारलाई गिराउन प्रतिक्रियावादीहरू सक्रिय रहेको बताए ।

‘नेपालको नक्सा सच्याउने, विप्लप र सीके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने काम हामीले गरेका हौं । अहिलेको सरकारको उपलब्धि १०० किलो सुन चोर्ने भएको छ । यस्तो पनि सरकार हुन्छ ?,’ उनले प्रश्न गरे।

नेपाल अब पछाडि परिराख्न नहुने बताउँदै उनले प्राकृतिक स्रोत, खनिजको उपयोग बढाई युवाहरूलाई स्वदेशमै रोजगारीमा लगाउनुपर्ने बताए । अहिलेको सरकार तस्करमा केन्द्रिकृत रहेको भन्दै राजश्व झन् घट्दै जाने उनले बताए । ‘भन्सारबाट सुन आउने, कर नतिर्ने, पक्रिएको सुन हराउने । कतिसम्म लाजमर्दो काम गरेको हो । अहिले भ्रष्टाचारविरूद्ध अभियान होइन, भ्रष्टाचार अभियान चालेको हो,’ अध्यक्ष ओलीले भने ।

उनले यतिसहितका विषयमा छानबिन गरेर देखाउन चुनौती दिए । ‘वाईडवडीमा कमिसन खानेहरू नै कुरा उठाउँछन् । मेरो चुनौती छ, छानबिन गर जेल जाउ,’ उनले भने ।

एमाले भ्रष्टाचार गर्न सरकारमा जाने पार्टी नभएको उनको जिकिर छ । तर एमालेका विरूद्धमा भ्रम छर्ने काम भइरहेको उनले बताए। उनले सरकार धेरै नचल्ने निष्कर्षमा प्रचण्ड पुगेको बताए। तर एमाले सरकार जान हतारमा नरहेको उनको भनाइ छ।