२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

रूपन्देहीमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को तयारी पूरा

शुक्रवार , भाद्र १५, २०८०

रुपन्देही, १५ भदौ ।

नेकपा (माओवादी केन्द्र) ले देशव्यापी रूपमा सञ्चालन गर्ने तीनमहिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को तयारी रूपन्देही जिल्लामा पूरा भएको छ । शुक्रबार बुटवलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अभियानका जिल्ला इञ्चार्ज गणेशमान पुनले अभियानको तयारी पूरा भएको जानकारी दिए ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ नारा दिइएको पार्टीको विशेष रूपान्तरण अभियानको तयारीका क्रममा जिल्लाका १६ वटै पालिकाका सम्पूर्ण वडामा पार्टी बैठक सम्पन्न गरिएको जानकारी दिंदै पार्टी स्थायी समिति सदस्य समेत रहेका नेता पुनले वडाहरूमा पार्टी कार्यकर्ताको उपस्थिति देखेर आफू उत्साहित भएको बताए ।

अभियानमा के गर्नुहुन्छ भन्ने पत्रकारको जिज्ञासाको जवाफमा नेता पुनले पार्टी कार्यकर्ता, शहीद परिवार, अपांग, घाइते, युवा, महिला, विद्यार्थीसँगै बौद्धिक समुदायसँग अन्तरक्रियासहित सुझाव संकलन तथा पार्टी निर्माण अभियान सञ्चालन हुने बताए । नयाँ ढंगको पार्टी निर्माण अहिलेको आवश्यकता रहेको बताउँदै नेता पुनले सबै नेता कार्यकर्तालाई समेत रुपान्तरित हुन अभियानले प्रेरित गर्ने बताए ।

‘अहिले हामीमा देखिएको रचनात्मकताको कमी हो, जसले गर्दा नयाँ पुस्तामा राजनीतिबाट टाढै बस्न चाहने र सकेसम्म देश नै छोडेर जाने स्थिति पैदा भएको छ । उनले भने, ‘अभियानले आम युवा समुदायमा उर्जा भर्ने छ, देशमै सम्भावना छ र हामीले देशमै केही गर्नुपर्छ भन्ने आशा जगाउने छ, युवाहरू राजनीतिबाट बाहिर हुँदा पुरानै पुस्ताले पुरानै ढंगले काम गरिरहने हुँदा राजनीतिमा युवा पुस्ताको हस्तक्षेप आवश्यक छ भन्ने विषयको सञ्चार अभियानले गर्नेछ ।’

त्यसै गरी पत्रकारसँग कुराकानी गर्दै पार्टीका जिल्ला संयोजक नारायण जिसी ‘निर्मल’ ले अभियानको तयारी गर्ने सवालमा रुपन्देही जिल्ला लुम्बिनी प्रदेशमै पहिलो भएको बताए । उनले भने, ‘हामीले सबै तयारी पुरा गरेका छौं, पार्टीको लुम्बिनी प्रदेश कार्यालयले समेत अन्य जिल्लाको तुलनामा रुपन्देहीको तयारी राम्रो रहेको बताएको छ ।’ जनयुद्धको आधारक्षेत्र रोल्पा–रूकुम भए पनि जनयुद्धको प्रचार र यसको सञ्चार गर्ने जिल्ला रुपन्देही रहेको उल्लेख गर्दै संयोजक जिसीले रुपान्तरण अभियानमा समेत रुपन्देहीले देशभरी नै फरक सन्देश प्रवाह गर्ने बताए ।

पार्टीले भदौ १६ गते (भोलि) एकैसाथ देशका ७ हजार २ सय ४२ वडामा अभियानको उद्धाटन गर्दैछ । तीन महिनासम्म सञ्चालन हुने उक्त अभियानको नेतृत्व प्रदेशमा केन्द्रिय पदाधिकारी, जिल्लामा स्थायी कमिटी सदस्य र पालिकामा पार्टीका केन्द्रिय सदस्यले गर्दैछन् भने प्रदेश सदस्य र जिल्ला सदस्यलाई वडामा खटाइएको छ ।

पार्टी नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध अभियान चलाइरहेको अवस्थामा माओवादी केन्द्रले सञ्चालन गर्न गइरहेको वडा केन्द्रित अभियानलाई विशेष महत्वका साथ हेरिएको छ ।

सरकारले गरेको काम र पार्टीले सञ्चालन गर्न लागिरहेको अभियानले आफूहरूलाई उत्साहित बनाएको माओवादी नेता–कार्यकर्ता बताउँछन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले समेत अभियानमा देशका ७ प्रदेशका ७ वटा वडाको जिम्मा लिएका छन् । भोलिको अभियान उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्ड चन्द्रागिरी नगरपालिकाको वडा नम्बर २ मा पुग्ने माओवादीले जनाएको छ ।