२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

शनिबारदेखि रुपन्देहीमा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन

शुक्रवार , भाद्र १५, २०८०

रुपन्देही, १५ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भोलि (शनिबार) देखि सुरू हुँदैछ । रुपन्देहीको बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । 

अधिवेशनको लागि प्रदेशका १२ वटा जिल्लाका १०९ स्थानीय तहबाट गरी १ हजार ४ जना प्रतिनिधि छानिएको एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले  शुक्रबार आयोजित पत्रकार सम्मेलनका जानकारी दिए । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कंडेलले बताए । 

उद्घाटन सत्रमा पार्टीका उपाध्यक्षहरू विष्णु प्रसाद पौडेल, युवराज ज्ञवाली, पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज पदमा अर्याल लगायतका नेताहरू बुटवल आउने कार्यक्रम छ । 

‘पार्टी जीवनमा यो प्रादेशिक अधिवेशन विविध कारणले अर्थपूर्ण हुनेछ’ कंडेलले भने, ‘७ वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले पहिलोपटक यो अधिवेशन गदैंछौं । साथै यसले पार्टी जीवनलाई संघीय ढाँचामा लगेर नयाँ नेतृत्व चयन गर्ने भएकोले यो आफैमा ऐतिहासिक महत्वको पनि छ ।’ 

सम्मेलनमा रुपन्देहीबाट १६४, कपिलवस्तुबाट ७२, दांङबाट  १३१, बाँकेबाट  ५४,  बर्दियाबाट ७४, रुकुम पूर्वबाट १२, रोल्पाबाट  २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीवाट ५२ जना प्रतिनिधि सहभागी हुनेछन् ।  

एमालेले हालको करिब ६ सय जना रहेको प्रदेश कमिटीलाई संक्रमणकालीन भन्दै यो संख्यालाई घटाएर चुस्त बनाउने भएको छ । अब आउने अधिवेशनले २०५ जनाको प्रदेश कमिटी चयन गर्ने छ । यसअघिको कमिटीमा केन्द्रबाटै बनेको कमिटीमा ६०१ जना छन् । 

एमालेले प्रदेशका १२ जिल्लाबाट प्रतिजिल्ला ५ जनाका दरले ६० जना, संघीय निर्वाचन क्षेत्रबाट प्रति क्षेत्र ५ जनाका दरले १३० जना र खुल्लाबाट ५ पदाधिकारीसहित १५ जना रहने गरी २०५ जनाको नेतृत्व चयन गर्नेछ ।

एमाले पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सुर्य थापाले पार्टी गुटबन्दी नभएको बताउँदै स्वस्थ प्रतिष्पर्धाबाट नयाँ नेतृत्व चयन हुने बताए । 

पार्टीको लुम्बिनी प्रदेश इञ्चार्ज पदमा अर्यालले लुम्बिनी प्रदेशमा पार्टी अगामी निर्वाचनमा एक नम्बर बनाउने गरी अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइन् । बढीमा ३ दिनभित्र नयाँ नेतृत्व चयन गरी अधिवेशन सकिने अर्यालले जानकारी दिइन ।