
शुक्रवार , भाद्र १५, २०८०
भैरहवा, १५ भदौ ।
नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य खिमलाल भट्टराईले पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको विषयमा आफूले छुट्टै भेला वा समूह भेटघाट गरेको प्रमाणित गर्न चुनौति दिएका छन् । उनले आफूविरुद्ध प्रचार गर्नेहरुलाई प्रमाणित गर्न चुनौति दिएका हुन् ।
बिहीबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भट्टराईले भनेका छन्, मेरो चुनौति तिनीहरूलाई ! केही सामाजिक सञ्जालहरूमा मेरो नाम जोडेर अमूक होटलमा ‘आफ्नो’ समूहको भेला राखेको भन्ने प्रचारप्रति मेरो खेद छ । मेरो नाम जोडेर आफ्नो अवाञ्छित गुटगत क्रियाकलापलाई ढाकछोप गर्ने कोशिस गरिंदैछ । ’ खबरदार ! म त्यस्तो कर्ममा विश्वास गर्दिन । मेरो विचार र व्यवहार पारदर्शी छ । ’
एमाले कपिलवस्तु इञ्चार्ज तथा राष्ट्रिय सभाका पूर्व सदस्यसमेत रहेका भट्टराईले आफ्नो सामुन्ने पार्टी रहेको र गुट नरहेको दावी गरे ।
‘यही भाद्र १६ र १७ गते सम्पन्न हुने लुम्बिनी प्रदेश अधिवेशनको मुलतः नेतृत्व चयनको विषयलाई लिएर विभिन्न चर्चा परिचर्चाहरु चलिरहेका छन् । उनले भने, ‘वहस पैरवी भइरहेका छन् । हाम्रो जस्तो ठूलो पार्टीमा प्रतिष्पर्धाको स्थिति हुनु र पक्षविपक्षमा विधि र सीमाभित्र बहस हुने कुरा पनि स्वभाविकै हो ।’
तर, सीमा नाघेर गुटगत गतिविधिमा उत्रिनु, समूहबन्दी गर्नु विलकुल पार्टी विरोधी अवाञ्छित कृयाकलाप भएको उनको तर्क छ । अधिवेशनका सन्दर्भमा आफ्नो मान्यता यही रहेको उनले बताएका छन् ।
एमाले लुम्बिनी प्रदेशको अधिवेशन रुपन्देहीको बुटवलमा हुँदैछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij