
शुक्रवार , भाद्र १५, २०८०
रुपन्देही, १५ भदौ ।
लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर रानाले जिम्मेवारीलाई कर्म सम्झेर काम गर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । ‘अरुलाई उपदेश दिनुभन्दा आफ्नो जिम्मेवारीलाई कर्म सम्झेर काम गर्नुपर्छ ।’
नेपाली काँग्रेसको प्रदेशसभा कार्यसमिति २ (ख) को सम्मेलनको उद्घाटन गर्दै रानाले सम्मेलन स्वमूल्यांकन गर्ने थलो भएको बताउदै पार्टीको वर्तमान अवस्थाको पहिचान गरी अगाडी बढ्न मार्गनिर्देशन प्रदान गर्ने उद्देश्यले प्रदेश सम्मेलनको आयोजना भएको बताए । ‘हामीले व्यवस्था परिवर्तन गरे पनि अवस्था परिवर्तन सोचेजस्तो भएको छैन् । अवस्था परिवर्तनको लागि कर्म गर्न छोड्नहुँदैन ।’
वडा तहदेखि नै सबै पदीय जिम्मेवारीमा रहनुभएका नेता तथा कार्यकर्ताहरुले आफ्नो जिम्मेवारी मात्रै पूरा गर्न सकेमात्रै पनि जनताको अवस्थामा परिवर्तन आउने उनले उल्लेख गरे । रानाले सम्मेलनले कार्यकर्ताहरुमा उत्साह थपेको उल्लेख गर्दै उर्जा लिएर जान सम्मेलनले महत्वपूर्ण भुमिका खेलेको बताए ।
प्रदेश सम्मेलनमा काँग्रेस पाल्पाका कार्यवाहक सभापति झपेन्द्र गैरेले वडा तहसम्मै पार्टीको प्रशिक्षण कार्यक्रम आयोजना गरिने उल्लेख गर्दै तल्लो तहसम्मै पार्टी पुग्ने गरी काम गरिरहेको बताए ।
लुम्बिनी प्रदेश सदस्य राम कार्कीले पार्टीका नेताहरुले एक अर्कोमा आरोप–प्रत्यारोप नगरेर सबैले स्वमूल्यांकन गर्न आवश्यक रहेको बताए ।
सम्मेलनमा सचिव शंकर भण्डारीले अहिलेसम्मको पार्टीको क्रियाकलापहरु र भावी योजना समेटेको कार्यपत्र प्रस्तुत गरेका थिए । भण्डारीले गएको स्थानीय तह निर्वाचन र संघ तथा प्रदेशको निर्वाचनमा गठबन्धनका नेताहरुलाई जिताउन प्रदेशले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै पार्टी गतिशिल अवस्थामा कार्यरत रहेको जानकारी दिए । ‘बाहिर भनिएजस्तो काँग्रेस गुट र फुटको अवस्थाबाट गुज्रेको छैन्, यो प्रदेशमा हाम्रा उम्मेदवारहरु अरुको तुलनामा धेरै निर्वाचित भएका छन् । पार्टीको बैठक तथा कार्यक्रमहरु कार्ययोजना अनुसार नै भएका छन् ।’ कार्यपत्रमा भनिएको छ, जनताको अवस्था परिवर्तन गर्ने खालको क्रियाकलाप, पार्टीका गतिविधि र जनप्रतिनिधिहरुसँगको समन्वयलाई बढाउँदै लगिनेछ ।
सम्मेलनमा क्षेत्रीय सभापति मुक्तिराम जि.सी., रैनादेवी छहरा गाउँपालिकाका पूर्वअध्यक्ष राम बहादुर कार्की, रिब्दीकोट गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारी लगायतले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै पार्टीमा निर्वाचन हुनु र हारजित हुनु सामान्य भएको बताए ।
पाल्पाको रिब्दीकोट, रैनादेवी छहरा र तिनाउ गाउँपालिका समेटिएको प्रदेशसभा सम्मेलनमा तीनै पालिकाका पालिका सभापतिहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।
काँग्रेस तिनाउका सभापति प्रेम पाण्डेय, रिब्दीकोट कार्यवाहक सभापति चन्द्रमणी पोखरेल र रैनादेवी छहराका सभापति विष्णु पोखरेलले पार्टीको अवस्था बलियो बन्दै गएको बताउदै, भातृ संगठनहरुको नेतृत्व चयन, बैठक लगायतका कार्यक्रमहरु सञ्चालन भएको जानकारी दिए । उनीहरुले जनप्रतिनिधिहरुले पार्टीको संगठनलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकोले पार्टी र जनप्रतिनिधिहरुको समन्वय बढाउनुपर्ने बताए ।
सम्मेलनमा उपस्थित कार्यकर्ताहरुले जिज्ञासा तथा सुझाव राखेका थिए । सम्मेलनको अध्यक्षता गरेका प्रदेश सभापति रुक्मांगत भट्टराईले प्रदेशसभा कार्यसमिति २ (ख) ले कार्यकर्ताहरुको सुझाव अनुसार नै नेतृत्वले काम गर्ने उल्लेख गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij