२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

अनेमसंघ समाजवादीद्वारा महिला हिंसाको घटनामा सरकारको ध्यानाकर्षण

बिहिवार , भाद्र १४, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • बुटवल, १४ भदौ ।

    नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी) लुम्बिनी प्रदेशले देशभर भइरहेका लैंगिक हिंसाका घटनामा ध्यानार्कषण गराउँदै सरकारलाई संवेदनशील रुपमा प्रस्तुत हुन आग्रह गरेको छ ।

    अनेमसंघ समाजवादी लुम्बिनी प्रदेशको बुधबार बुटवलमा बसेको तेस्रो बैठकले सामाजिक अत्याचार, महिला हिंसाका घटनाहरु बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्ने गरी सरकारलाई ठोस कार्यक्रम ल्याउन र सरकारलाई यस्ता मुद्वामा संवेदनशील हुन आग्रह गरेको हो ।

    अखिल नेपाल महिला संघ समाजवादीका केन्द्रीय उपाध्यक्ष राजेन्द्र लक्ष्मी गैरै, नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष सोम प्रसाद पाण्डेको विशेष उपस्थितिमा बसेको बैठकले संगठन निर्माणको गथिलाई चुस्त रुपमा अगाडि बढाउने निर्णय समेत गरेको छ ।

    लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा कार्तिक मसान्तभित्र अनेमसंघ समाजवादीलाई अध्यावधिक गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै अनेमसंघ समाजवादीका केन्द्रीय उपाध्यक्ष एंव राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले विद्रोहको औचित्य पुष्टि हुने गरी काम गर्न आग्रह गरिन् ।

    त्यस्तै पार्टीका पोलिटव्यूरो सदस्य एवं प्रदेशका अध्यक्ष सोमप्रसाद पाण्डेले संविधान, समावेशीता र व्यवस्थाको रक्षाका लागि पार्टीले विद्रोहको बाटो लिएको बताउँदै समाजमा अझै पनि विभेदहरु कायमै रहेकाले अनेमसंघ समाजवादीले अग्रपंक्तिमा गएर त्यसका विरुद्ध लाग्नुपर्नेमा जोड दिए ।

    बैठकमा अनेमसंघ समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य भगवती घिमिरे, प्रदेश अध्यक्ष उमा काफ्ले, उपाध्यक्ष लक्ष्मी भुसाल, सचिव गीता अन्जान केसीले बोल्दै अनेमसंघ समाजवादीलाई महिलाहरुको सशक्त संगठनका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

    बैठकले आउदै गरेको हरितालिका तीजलाई आ–आफ्नो जिल्लामा मनाउन समेत आग्रह गर्ने निर्णय गरेको सचिव गीता अन्जान केसीले जानकारी दिइन् ।