
मंगलवार , भाद्र १२, २०८०
भैरहवा, १२ भदौ ।
लियो क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभले मंगलबार भैरहवामा एकदिने निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरेको छ । क्लबले सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री बाल मन्दिर आधारभूत विद्यालयमा उक्त शिविर आयोजना गरेको हो । क्लबका वर्ष २०२३/०२४ का अध्यक्ष विवेक भण्डारीको जन्मदिनसमेतको अवसर पारेर आयोजित शिविरमा ४० जना बढी विद्यार्थीहरुको आँखा परीक्षण गरिएको कार्यक्रम संयोजक सुनिल खनालले बताए ।
शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले जन्मदिनको अवसरमा आयोजित कार्यक्रम सराहनीय रहेको बताइन् । उनले सामाजिक संघ–संस्थाले राम्रो काम गरेको बताइन् । उनले भनिन्, ‘सोचमा परिवर्तन हुनु आवश्यक छ । मेरो र हाम्रो मान्छे भन्दा राम्रो मान्छे भए काम गर्न सहज हुन्छ ।’
त्यस्तै विशिष्ट अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल एरिया–५ का चिफ सतिश कुमार कौशल (दीपक) ले बाल मन्दिर परिसरमा बाल उद्यान विकसित गर्न सकिने बताए । उनले लियो क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभले महत्वपूर्ण कार्य गरेको भन्दै प्रशंसा गरे ।
नेपाल बाल संगठन लुम्बिनी प्रदेश संयोजक साजन भण्डारीले लियो क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभ धन्यवादको पात्र भएको बताए ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल एरिया–५ का सचिव विनय कसौधनले आँखा पाक्ने रोगको महामारी फैलिएको बेला बालबालिकालाई केन्द्रीत गरेर शिविर आयोजना गर्नु सराहनीय रहेको बताए ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक प्रोग्राम मेम्बर सुनिल सेन्चुरीले लियो सिद्धार्थनगर प्रोग्रेसिभले आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्दै जाओस् भन्दै शुभकामना व्यक्त गरे ।
लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष रवि कुमार श्रेष्ठले आँखा पाक्ने रोगको महामारीका कारण कतिपय विद्यालयहरु बन्द भएको बेला विद्यालयमा शिविर आयोजना गर्नु सराहनीय रहेको बताए ।
लियो सिद्धार्थनगर प्रोग्रेसिभका सल्लाहकार तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का पूर्व वडा सदस्य सरोज ठकुरीले अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको बताए ।
लियो सिद्धार्थनगर प्रोग्रसिभ वर्ष २०२३/०२४ का अध्यक्ष विवेक भण्डारीले बालबालिकाको समयसमयमा आँखा परीक्षण गराउन आग्रह गरे । उनले शिविरमा आँखा परीक्षण गरिएको बालबालिकालाई आवश्यक औषधी र चश्मा रामु अप्टीकलबाट निःशुल्क प्रदान गरिने बताए ।
कार्यक्रम संयोजक सुनिल खनालको स्वागत, लियो सिद्धार्थनगर प्रोग्रसिभका कोषाध्यक्ष सुमित पौडेलको ध्वजा अभिवादन तथा सह–सचिव मनिषा कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij