
मंगलवार , भाद्र १२, २०८०
भैरहवा, १२ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन र राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, रुपन्देहीले संयुक्त रुपमा मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।
बहुसंख्यक हिन्दू रहेको देशमा सनातन संस्कार मान्दै आएका सनातनी ओमकार परिवारलाई खुला चुनौति दिने, हिन्दूले बनाएको मन्दिरसँगै चर्च बनाउने र त्यसले सिर्जना गर्न सक्ने सामाजिक द्वन्द्वप्रति सरोकार पक्ष र सरकारका निकायले देखाएको निस्क्रियताले समग्र हिन्दू धर्मावलम्बीहरुको आस्थामाथि गहिरो चोट पुगेको राप्रपाको ठहर रहेको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन, रुपन्देहीकी अध्यक्ष मिना देवी रिमालले बताइन् ।
उनले विगत केही दिन अगाडि धरानमा गौ–बध गरी मासु खाएको दृश्य सामाजिक संजालमा सार्वजनिक गर्ने र त्यसो गर्न पाउनुपर्छ भन्दै खुलेयाम चुनौति दिने पक्षलाई सरकारले कारवाही गर्न देखाएको उदासिनता उपर राप्रपाको गम्भिर ध्यानाकर्षण भएको बताइन् ।
‘नेपालको संविधान, मुलुकी अपराध संहिता, २०७४ को दफा १५६ तथा २८९ विरुद्ध भएका यस्ता गतिविधिउपर रोक लगाई सम्बन्धित पक्षलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्नेमा संविधानको धारा २६ को उपधारा (३) ले दिएको अधिकार अनुरुप शान्तिपूर्ण रुपमा बिना हतियार भेला हुन पाउने अधिकार बमोजिम सनातन परिवारले गर्न लागेको विशाल जनसभामा लगाएको निषेधाज्ञाले हिन्दू धर्मावलम्बीहरुप्रति सरकारको रवैया थप प्रष्ट भएको छ, ’ज्ञापनपत्रमा उल्लेख छ ।
संविधान र प्रचलित कानूनको बर्खिलाप काम गर्नेहरुविरुद्ध कडा कानूनी कारवाही गरी सनातन संस्कृति मान्दै आएका ओमकार परिवारहरुको आस्थाको सम्मान गर्न तथा समाजमा मेलमिलाप र शान्तिको वातावरण कायम गर्न ज्ञापनपत्रमार्फत माग गरिएको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीकी सचिव प्रतिमा शर्मा काफ्लेले बताइन् ।
ज्ञापनपत्र बुझ्दै रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर कुँवरले ज्ञापनपत्र प्रधानमन्त्री समक्ष पठाउने बताए ।
ज्ञापनपत्र बुझाउनु अघि जिल्ला प्रशासन कार्यालय गेट अगाडि बोल्दै राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीका अध्यक्ष शंकर खत्रीले गौहत्या गर्ने कार्यमा संलग्न दोषीलाई कानूनी कारवाहीमा ल्याउन माग गरे ।
त्यस्तै धार्मिक अगुवा चुरामणि पाण्डेले गौमाताको संरक्षण हुनुपर्ने बताए । उनले आफूहरुको लडाइ कुनै धर्म र समुदायप्रति नभएको प्रष्ट पारे । उनले कसैको आस्थामाथि खेलवाड गर्न नपाइने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij