२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

आर्थिक संकट निवारणका लागि अहिलेको सरकारले पहल गर्नुपर्छ : माधव नेपाल

मंगलवार , भाद्र १२, २०८०

भैरहवा, १२ भदौ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले मुलुकको आर्थिक संकटलाई निवारण गर्नका लागि अहिलेको सरकारले पहल गर्नुपर्ने बताएका छन् । उनले दलाल पूंजीपति र बिचौलियाका कारण मुलुकमा आर्थिक संकट उत्पन्न भएको दावी गरे ।

समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धन सरकारमा एकीकृत समाजवादी सामेल भएको र महत्वपूर्ण जिम्मेवारी सम्हालेको बताए । उनले भने, ‘हामी गठबन्धनलाई बलियो बनाउन चाहन्छौं, गठबन्धन सरकारले राम्रो काम गरोस् भन्ने चाहन्छौं । ’ समाजवादी मोर्चाप्रति उत्साह बढेको उनको भनाइ छ ।

बामपन्थी, देशभक्त र लोकतान्त्रिक सबै शक्ति एकै ठाउँ उभिएर प्रतिगमन र अनुचित कदमकाविरुद्ध एकताबद्ध भएर जनताको पक्षमा लाग्न समाजवादी मोर्चा बनेको उनले बताए । संविधानमा पनि समाजवादको बारेमा प्रष्ट व्यवस्था रहेको अध्यक्ष नेपालको भनाइ छ ।

‘प्रतिगमन र प्रतिगनकारी काम र अनुचित कदमकाविरुद्ध बनेको मोर्चा हो’ नेपालले भने, ‘यसले समाजवादका मान्यताअनुसार अग्रगामी कार्यक्रममार्फत सहकार्य गर्नेछ ।’

अध्यक्ष नेपालले नेकपा (एस) कुनै पार्टीमा विलय हुने वा समाहित हुने कल्पना गर्न नसकिने दावी गरे । उनले सदन, सडक र सरकारमा बसेर सशक्त रुपमा जनताको आवाज उठाउने र राम्रो काम गर्ने बताए । ‘नेकपा एस गठबन्धनलाई बलियो बनाउँदै संविधान र व्यवस्थाको रक्षाका लागि काम गर्ने पक्षमा छ’ उनले भने । ‘हामी जहाँ छौं, त्यहीबाट जनताको पिडा र बेदनालाई सरकार, सदन र सडकबाट उठाउनुपर्छ’ उनको आग्रह छ । 

उनले मुलुकका विभिन्न समस्याहरुको समाधानका लागि समेत मोर्चाले सातवटै प्रदेशमा मोर्चा निर्माण गर्नुपरेको बताए । उनले निर्वाचन परिणामले कुनै पनि दलको बहुमत नआएकाले सबै मिलेरै अघि बढ्नुपर्ने अवस्था रहेको बताए । ‘अहिले कसैको पनि बहुमत आएको छैन, मिलेरै अगाडि बढ्नुपर्छ’ अध्यक्ष नेपालले भने । 

समाजवादी मोर्चाले मंगलबार बुटवलमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्न नेपाल मंगलबार बुटवल आएका हुन् ।