
सोमवार , भाद्र ११, २०८०
रुपन्देही, ११ भदौ ।
नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको तयारीका सन्दर्भमा सोमबार रुपन्देही जिल्ला कमिटीले जिल्लाका सबै पालिकाका पार्टी प्रमुखहरुको संयुक्त बैठक बसी अबका ४ दिन सम्पूर्ण रुपले यही अभियानमा लाग्न निर्देशन गरेको छ ।
पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले सबै कमिटीलाई यथार्थ धरातलमा उत्रिएर स्पष्ट योजना र जिम्मेवारीका साथ काममा लाग्न निर्देशन दिइन् । सो अवसरमा सबै पालिकाले आफूले अधिवेशनमा ल्याउन सक्ने कार्यकर्ताको संख्याबारे स्पष्ट बताएका थिए ।
जसअनुसार बुटवलले ५ हजार जनाको सहभागीता सुनिश्चित गरेको छ । यसबाहेक तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना, देवदह र लुम्बिनी साँस्कृतिक नगरपालिका तथा गाउँपालिकाहरु मायादेवी, कोटहीमाई, सम्मरीमाई, रोहिणी, गैडहवा, ओमसतिया, कञ्चन, शुद्धोधन र सियारी पालिकाहरुका अध्यक्षहरुले प्रतिवद्वता व्यक्त गरेका थिए ।
जनपरिचालन कमिटीका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य भूमिश्वर ढकालले जनपरिचालन गर्ने काम प्राविधिक भएकोले विशेष ध्यान दिन आग्रह गरे ।
एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षतामा भएको बैठकमा अध्यक्ष केसीले १६ वटै पालिकामा सहजताकासाथ प्रतिनिधि छनौट गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अबको कार्यभार अधिवेशन सफल पार्ने भएकोले कार्ययोजना अनुरुप लाग्न सबैलाई अनुरोध गरे ।
यो अधिवेशनको व्यवस्थापन रुपन्देहीले पाउनु महत्वपूर्ण अवसर भएको र सम्मेलनले पार्टीलाई भावनात्मक एकता कायम गरेर लैजाने विश्वास उनले व्यक्त गरे ।
सो अवसरमा पार्टीका पोलिटब्यूरो सदस्यहरु लिला गिरी, दधिराम न्यौपाने र खिमलाल भट्टराई, केन्द्रीय सदस्यहरु शिवराज सुवेदी र कमल गौतमले विविध विषयमा जानकारी दिएको जिल्ला सचिव यज्ञ गैरेले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij