२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

लमजुङका १८ जना नागरिकले त्यागे नेपाली नागरिकता

सोमवार , भाद्र ११, २०८०

लमजुङ, ११ भदौ । 
लमजुङ स्थायी घर भइ जागिरको सिलसिलामा विभिन्न देशमा पुगेका १८ जनाले नेपाली नागरिकले नागरिकता त्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङबाट नेपाली नागरिकता लिएकामध्ये १८ जनाले नेपाली नागरिकता त्याग गरेका हुन् ।

जिल्लामा २०७४ र २०७८ सालमा सबैभन्दा धेरै नागरिकता त्याग्नेको संख्या रहेको पाइएको छ । उक्त समयमा पाँच/पाँच जनाले नागरिकता त्यागेका छन् । त्यसै गरी जिल्लामा २०७३ सालमा २ जना, २०७५ सालमा १ जना, २०७९ सालमा २ जना र ८० सालको हालसम्म ३ जनाले नागरिकता त्याग गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जगदीश मिश्रले जानकारी दिए ।

अन्य देशको नागरिकता लिनका लागि नेपाली नागरिकता अनिवार्य त्याग्नुपर्ने भएकोले नेपालीहरुले नेपाली नागरिकता त्याग गर्ने पाइएको जिप्रकाका सुचना अधिकारी मिश्रको भनाइ छ ।

लामो समयदेखि वैदेशिक रोजगारीका साथै डिभी र पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरी बसेकाहरूले पनि नागरिकता त्याग गरेको उनले बताए ।

त्यसै गरी जिल्लाबाट नयाँ नागरिकता लिने भन्दा नागरिकताको प्रतिलिपि लिने धेरै रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङकाबाट आर्थिक वर्ष ०७९/०८० मा ६ हजार ४ सय ४५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

गत वर्ष नै वंशजको आधारमा नयाँ नागरिकता लिनेको संख्या ५ हजार ८ सय ७४ रहेको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी जगदिश मिश्रले बताए । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ४ हजार ५ सय ५४ जनाले नागरिकताको प्रतिलिपि लिएका थिए ।

सोबाहेक ७ हजार ५ सय ५८ जनाले वंशजको आधारमा नयाँ नागरिकता लिएको र चारजनालाई वैवाहिक अगिकृत नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।

त्यसै गरी गत आर्थिक वर्ष ०७९/०८० मा तीनसय नाबालक परिचयपत्र वितरण गरिएको छ । गत वर्ष नै २३ हजार ७ सय ५९ जनाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरेको सूचना अधिकारी मिश्रले जानकारी दिए ।