
शनिवार , भाद्र ९, २०८०
बुटवल, ९ भदौ ।
सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवल उपमहानगरपालिका–५, रुपन्देहीमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । २०८० सालको कक्षा १२ को परीक्षामा उत्कृष्ट अंकसहित उत्तीर्ण भएका र एम.बी.एस. दोस्रो सेमेष्टरमा नेपाल प्रथम हुने पुजा थापा क्षेत्री र एम.बी.एस. दोस्रो सेमेष्टरमा नेपाल तृतीय हुने रिता श्रेष्ठसहित उत्तीर्ण विद्यार्थीहरुलाई टीका, खादा र मायाको चिनोले सम्मान गरिएको छ ।
क्याम्पसका अध्यक्ष निर्मल लाकौलको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख विष्णु प्रसाद राना, सहायक क्याम्पस प्रमुख रमेश पाण्डे, मनोज सापकोटा, विभागीय प्रमुखहरु टीकाराम घिमिरे, रामनाथ उपाध्याय, कृष्णप्रसाद खनाल, एम.बी.एस. दोस्रो सेमेष्टरमा नेपाल प्रथम हुने पुजा थापा क्षेत्री लगायतले बोल्दै यस क्षेत्रकै नमुना क्याम्पसलाई शैक्षिक क्षेत्रमा सधै अब्बल बनाउन सबै लाग्नुपर्ने बताए ।
सो अवसरमा बोल्दै अध्यक्ष लाकौलले विद्यार्थीको उच्च शिक्षाको थप सफलताको शुभकामना दिदै सबैका लागि शिक्षा दिन सक्ने क्याम्पस रोज्नुपर्ने धारणा राखे ।
क्याम्पस प्रमुख विष्णु प्रसाद रानाले सबैको योगदानका कारण अहिलेको नतिजा आएको बताए । सहायक क्याम्पस प्रमुख रमेश पाण्डेले गुणस्तरीय शिक्षाकै कारण अहिलेको बजारमा क्याम्पसका पूर्व विद्यार्थीहरुले विभिन्न क्षेत्रको नेतृत्व गरिरहेको उल्लेख गरे ।
कार्यक्रममा स्नातकोत्तर तहमा अध्यापन गराउने प्राध्यापकहरूलाई समेत टीका र खादाले सम्मान गरिएको थियो । वि.सं. २०४८ सालमा स्थापित क्याम्पसमा कक्षा ११–१२, स्नातक तथा स्नातकोत्तर तहमा व्यवस्थापन, शिक्षा र मानविकी संकायमा अध्ययन/अध्यापन हुँदै आएको छ ।
क्याम्पसमा स्नातक तहमा नयाँ भर्ना हुनेका लागि विभिन्न शुल्कमा छुटका बारेमा जानकारीसमेत समारोहमा दिइएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij