
मंगलवार , भाद्र ५, २०८०
रूपन्देही, ५ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको तयारीका लागि पार्टी सचिव तथा प्रदेश इञ्चार्ज पद्मा अर्यालसहितको प्राविधिक टोलीले कार्यक्रमस्थल अवलोकन गरी तयारी गरेको छ ।
रुपन्देहीको बुटवलमा यही भदौ १६ र १७ गते हने प्रथम प्रदेश अधिवेशनलाई तीव्रता दिएको एमालेले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा विभित्र तयारी गरेको छ । सोही क्रममा मञ्च व्यवस्थापन, उद्घाटन सत्र तथा बन्द सत्र सञ्चालनका लागि प्राविधिकको टोलीले अवलोकन गरेको हो ।
मञ्चमा वक्तालाई उपस्थित नगराउने, अतिथि आसन ग्रहण नगराउने एमालेको निर्णय लुम्बिनी प्रदेशको अधिवेशनबाट कार्यान्वयन हुने बताउँदै सचिव अर्यालले सोहीअनुसार मञ्च व्यवस्थापन गर्न सुझाव दिएकी छन् । ‘यो अधिवेशन पहिलो सार्वजनिक र ठूलो कार्यक्रम हुनेछ जुन कार्यक्रमले पार्टी केन्द्रको निर्णयलाई कार्यन्वयन गर्दै ऐतिहासिक र रचनात्कम सन्देश दिने छ’, अर्यालले भनिन् ।
पूर्वमन्त्रीसमेत रहेकी अर्यालले प्रदेश अधिवेशनमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित आधा दर्जन बढी पदाधिकारी सहभागी हुने भए पनि पदाधिकारी सबैको आसन मञ्चमा नभइ प्रतिनिधिको रोहमै रहने बताएकी हुन् । कुल ८२ हजार ३ सय ३ जना पार्टी सदस्य रहेको लुम्बिनी प्रदेशमा अधिवेशनका लागि १ हजार प्रतिनिधि छनोट हुने एमालेले जनाएको छ । जसको लागि यही भदौ ९ गते प्रदेशका १०९ वटै पालिकाबाट एकैपटक प्रतिनिधि चयन गर्दैछ । अधिवेशनमा मूल नेतृत्व सकेसम्म सर्वसम्मत बनाउने कोशिष रहने अर्यालले बताइन् ।
‘सकेसम्म सर्वसम्मत् नेतृत्व छानौं भन्ने हो, यदी त्यसो हुन सकेन भने पनि लोकतान्त्रिक विधिको प्रयोग गरी स्वस्थ प्रतिष्पर्धाबाट नेतृत्व चयन गर्ने बाटो खुल्ला रहन्छ’, उनले भनिन् । निर्वाचनमा जाँदा कार्यकर्ताहरुको मन र भावना विभाजित नहोस् भन्नेतर्फ पार्टी पंक्ति सचेत रहेको भन्दै उनले सर्वसम्मत हुन नसके पार्टी नेतृत्वले कुनै जबरस्ती नगर्ने उनको भनाइ छ । ‘नेतृत्वका लागि कसैले इच्छा देखाउनुहुन्छ भने उहाँको इच्छालाई पार्टी नेतृत्वले दबाउँदैन, इच्छुकले लोकतान्त्रिक विधिअनुसार स्वस्थ प्रतिष्पर्धा गर्न सक्नुहुन्छ’ अर्यालको भनाइ छ ।
सचिव अर्यालले अधिवेशनले लुम्बिनीमा पार्टीले लिने कार्यदिशा, सांगठनिक अनुशासन र पार्टी पंक्तिलाई परिचालन गरी जनतासँग एकाकार गर्ने कुरामा नयाँ मार्गनिर्देश गर्ने पनि बताइन् । वर्षा र गर्मीयामको समयलाई मध्यनजर गर्दै ठूलो जनसहभागीता नजुटाइ अधिवेशन गरिने उनले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij